

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ। क्लबले सोमबार सामाजिक सञ्जालमार्फत यो घोषणा गरेको हो।
४० वर्षीय शाकिबलाई क्रिकेट इतिहासकै महान् अलराउन्डरमध्ये एक मानिन्छ। उनले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। टी-२० अन्तर्राष्ट्रियमा उनले २ हजार ५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन्। समग्रमा सबै खालका टी-२० खेलहरूमा उनले ४७८ खेल खेल्दै ७ हजार ८५३ रन र ५१५ विकेटको उपलब्धि हासिल गरेका छन्।
शाकिब विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका अनुभवी खेलाडी हुन्। उनले आईपीएलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबाट ९ सिजन खेलेका छन्। हाल उनी श्रीलंकाको लंका प्रिमियर लिगमा जाफना किंग्सको प्रतिनिधित्व गरिरहेका छन्।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानीले शाकिबको आगमनले टोलीलाई थप प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। उनले भने, “शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। उनको अनुभव, व्यावसायिकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदानभित्र र बाहिर दुवैतिर प्रेरित गर्नेछ।”
पोखराले एक साताअघि मात्रै श्रीलंकाका पूर्व स्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। यसअघि नै क्लबले मार्की खेलाडीको रूपमा कुशल भुर्तेललाई पनि रिटेन गरिसकेको छ।
एनपिएलको तेस्रो संस्करण कात्तिक १ गते (नोभेम्बर १७) देखि मंसिर २७ गते (डिसेम्बर १३) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































