07/26/2026, 21:11:46
आइतबार, साउन १०, २०८३

पूर्वाधार निर्माणमा इन्जिनियरिङ त्रुटि र अतिक्रमणका कारण माइतीघरमा डुबान: अध्ययन प्रतिवेदन


काठमाडौँ, साउन १० गते । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेस भएको छ।

झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले प्राविधिक प्रतिवेदन पेस गर्न संयुक्त टोलीलाई निर्देशन दिनुभएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले सो स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य हुनुहुन्थ्यो।

प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको पाइप छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा पोखिने गरेको प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतर्फ फर्कने समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको पाइएको छ।

भौतिक पूर्वाधारका साथै वातावरणीय र सहरी विकास व्यवस्थापनका कमजोरीलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कारण मानेको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रले ‘प्राकृतिक जलाधार’ का रूपमा काम गर्थे, जसले वर्षाको पानी जमिनमुनि सोस्ने गर्थ्यो। तर अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयलगायतका ठुला भवनहरू निर्माण भएपछि जमिन कङ्क्रीटले ढाकियो। यसले गर्दा पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भई सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढेको प्राविधिक टोलीको निष्कर्ष छ।

अतिक्रमणको समस्या पनि डुबानका लागि उत्तिकै जिम्मेवार देखिएको छ। ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहोर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ। तत्कालका लागि ढल निकास मार्गका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठुलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ।

त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ। सडक, खानेपानी, ढल र विद्युत्जस्ता निकायहरूबिच एकीकृत प्रणालीको विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनमा विशेष महत्त्वका साथ उठाइएको छ।