10/11/2026, 19:25:30
आइतबार, असोज २५, २०८३

गोरखा बुढीगण्डकी बाढी: ५ बेपत्ता, करोडौँको क्षति र दर्जनौँ घर उच्च जोखिममा


काठमाडौँ, असोज २५ गते । गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिचमा खसेको ठुलो पहिरोका कारण बुढीगण्डकी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। नदीको बहाव तीव्र बन्दा गोठमा रहेका पाँच जना बेपत्ता हुनुका साथै विभिन्न स्थानमा भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।

चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी दुई महिला र तीन पुरुष भेडीगोठमा रहेका बेला बाढीले बगाएर बेपत्ता भएका हुन्। यसैगरी, धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका ७ देखि ८ वटा घर, चुमनुव्री–३ न्याकचेतका घर र झोलुङ्गे पुलहरू बाढीले पूर्ण रूपमा बगाएको छ।

बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ जोड्ने पक्की पुलको एक भाग तथा सोतीस्थित फलामे पक्की पुल बगाएको छ। साथै, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र, दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा ठुलो क्षति पुगेको छ।

घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाको चार वटा हेलिकप्टरमार्फत अहिलेसम्म ४७ जनाको उद्धार गरिएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइ सुरक्षित स्थानमा सारिएको छ।

क्षति तथा उद्धार विवरण तालिका

विवरण शिर्षक प्रभावित क्षेत्र तथा विवरण
बेपत्ता व्यक्तिहरू चुमनुव्री–६, चुम्चेत (५ जना गोठालो बेपत्ता)
बगएका संरचनाहरू टाइम्स ऊर्जा प्रालिका घरहरू, झोलुङ्गे तथा पक्की पुलहरू, बूढीगण्डकी जलविद्युत आयोजना क्याम्प
जोखिममा रहेका क्षेत्रहरू माछीखोलाको तल्लो बस्ती (२० देखि २२ घर उच्च जोखिममा)
उद्धार तथा जनशक्ति ४३७ जना सुरक्षाकर्मी परिचालित, हेलिकप्टरबाट ४७ जनाको उद्धार