काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति उट्रेचस्थित स्पोर्टपार्क मार्सचल्केरविडमा सम्पन्न खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै नामिबिया लिग २ को अंकतालिकामा २९ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। नेपालको पनि समान २४ अंक छ तर नेट रनरेटमा नामिबिया अघि छ। नेपाल भने २४ अंकसहित पाँचौं स्थानमा रहेको छ।
नामिबियाको सहज जित
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाका लागि ओपनर माइकल भान लिङ्गेनले ७९ बलमा ४ चौकाको मद्दतले ५१ रनको अर्धशतक प्रहार गरे। जान फ्रायलिङ्कले ८९ बलमा ८ चौका र १ छक्काको सहायताले ७७ रन बनाएर अविजित रहे। जान निकोल लफ्टी इटनले १७ रनको योगदान गर्दै अविजित रहे।
नामिबियाका लागि डेब्यु गरेका अलेजान्डर बुसिङ भोलचेन्कलाई नन्दन यादवले २ रनमा आउट गरे। त्यसपछि भान लिङ्गेन र फ्रायलिङ्कले दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार गरे। कप्तान रोहित पौडेलले भान लिङ्गेनलाई बोल्ड गरे पनि त्यति बेलासम्म नामिबिया जितको नजिक पुगिसकेको थियो।
नेपालका लागि नन्दन यादव र रोहित पौडेलले १–१ विकेट लिए।
नेपालको ब्याटिङ विफलता
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भयो। सुरुवाती ओभरमै ओपनर कुशल भुर्तेल दोस्रो बलमा जेजे स्मिथको बलमा बोल्ड भए। जेजेले नै नवौं ओभरमा इशान पाण्डेलाई पनि बोल्ड गर्दा नेपालले २ विकेट गुमायो। अर्का ओपनर आसिफ शेख १६ रनमा आउट भए।
त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै नेपाललाई सम्हाल्ने प्रयास गरे। रोहितले ६० बलमा ३१ रन बनाए भने दीपेन्द्रले ५१ बलमा २ चौकासहित ३० रन जोडे। तर दीपेन्द्रलाई बर्नार्ड स्कोल्ट्जले बोल्ड गरेपछि नेपाल पुन: संकटमा पर्यो।
त्यही ओभरमा आरिफ शेख एलबीडब्लु भए भने ज्याक ब्रेसवेलले रोहितलाई विकेटकिपरबाट क्याच गराए। लगातार विकेट गुमाउँदै नेपाल ९९–६ को अवस्थामा पुग्यो।
तल्लोक्रमका खेलाडीहरूले पनि त्यति प्रभाव देखाउन सकेनन्। गुलशन झाले २०, करण केसीले १८, सोमपाल कामीले १५ र नन्दन यादवले १ रन बनाए। सन्दीप लामिछाने १ रनमा अविजित रहे।
नेपालले इनिङ्सभर जम्मा ६ चौका र २ छक्का मात्र प्रहार गर्यो। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू संघर्ष गरेका थिए।
जेजे स्मिथको अभूतपूर्व प्रदर्शन
नामिबियाका अलराउण्डर जेजे स्मिथले ९.५ ओभरमा ३६ रन मात्र खर्चेर ६ विकेट लिए। उनले नेपालको सुरुवाती २ विकेट लिए भने अन्तिम ४ विकेट पनि आफ्नो नाम गरे। बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रेसवेलले २–२ विकेट लिए। रुबेन ट्रम्पलम्यानले विकेट नलिए पनि १० ओभरमा ३७ रन मात्र खर्चेर राम्रो साथ दिए।
लेग २ को अंकतालिकामा नेपालको चुनौती
यो हारसँगै लिग २ मा नेपालको शीर्ष चारमा पुग्ने सम्भावना झनै जटिल बनेको छ। हाल २९ खेलमा २४ अंक रहेको नेपाल पाँचौं स्थानमा छ। नेपाल, नामिबिया र क्यानडाको २४–२४ अंक छ। शीर्ष स्थानमा अमेरिका (४३ अंक) र दोस्रोमा स्कटल्यान्ड (३८ अंक) छन्।
नेपालले बाँकी ७ वटै खेल जिते पनि स्कटल्यान्डसँग अंक बराबर हुने अवस्था छ। त्यसैले नेपालका लागि अब हरेक खेल फाइनल सरह बनेको छ।
नेपालले लिग २ को यो साइकलमा विदेशी भूमिमा गरेको प्रदर्शन निकै कमजोर छ। विदेशी भूमिमा कूल १७ खेलमा जम्मा ४ मात्र जित हासिल गरेको नेपाल यो ११औं पराजय हो। २ खेल भने नतिजाविहिन बने।
नेपालले अब दोस्रो खेलमा बिहीबार घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्नेछ। त्यसपछि अन्तिम शृङ्खला ओमानमा हुनेछ, जहाँ नेपालले ओमान र क्यानडासँग २–२ खेल खेल्नेछ।
खेलपछि कप्तान रोहितको प्रतिक्रिया
खेलपछि नेपालका कप्तान रोहित पौडेलले नामिबियाले राम्रो बलिङ गरेको र नेपालको ब्याटिङ युनिटले सम्हालिन नसकेको स्वीकार गरे। उनले भने, ‘नामिबियाले राम्रो बलिङ गर्यो। जेजे स्मिथ र ट्रम्पलम्यानले सुरुवाती ओभरमै दबाब बनाए। पावर प्लेमा विकेट गएपछि ब्याटिङ युनिट स्टेप अप हुन सकेन। म र दीपेन्द्र आउट भएपछि ठूलो साझेदारी गर्न सकेनौं। अब आउने खेलमा राम्रो योजना बनाएर खेल्नेछौं।’
नेपालका लागि यो लिग २ साइकलमा नामिबियाविरुद्ध लगातार तेस्रो हार हो। यसअघि सन् २०२४ फेब्रुअरीमा नेपालमै भएको पहिलो शृङ्खलामा नेपाल ४ र २ विकेटले पराजित भएको थियो। नामिबियाविरुद्ध ओडिआईमा नेपालको यो छैटौं हार हो। दुई टोलीबीच ओडिआईमा ९ खेलमा नेपालले सन् २०२३ मा घरेलु मैदानमा मात्र २ जित हासिल गरेको छ। १ खेल भने नतिजाविहिन बनेको छ।
अब नेपालले बिहीबार नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेल खेल्दै छ। यो खेल नेपालका लागि लिग २ मा शीर्ष चारको दौडमा टिक्न अत्यन्तै महत्वपूर्ण रहनेछ।
ताजा अंक तालिका :


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































