07/14/2026, 17:55:58
मङ्गलबार, असार ३०, २०८३

फ्रान्स–स्पेन र इङ्ग्ल्याण्ड–अर्जेन्टिनाबीच सेमिफाइनलको रोमाञ्चक भिडन्त


४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा सीमित भएको छ। एक महिनाभन्दा लामो प्रतिस्पर्धा, सयौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इङ्ग्ल्याण्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन्

विश्वकप इतिहासमै पहिलो पटक फिफा वरियताका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाएको ऐतिहासिक उपलब्धि हासिल भएको छ। क्वार्टरफाइनलपछि फ्रान्स १,९४८.९७ अंकका साथ विश्व नम्बर १ मा उक्लिएको छ भने साविक विजेता अर्जेन्टिना १,९४३.४७ अंकका साथ दोस्रो, स्पेन १,९३४.७९ अंकका साथ तेस्रो र इङ्ग्ल्याण्ड १,८८९.४२ अंकका साथ चौथो स्थानमा रहेका छन्सेमिफाइनलको पहिलो खेलमा फ्रान्स र स्पेन भिड्नेछन् भने दोस्रो खेलमा इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। चारै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् र सबैले यसअघि विश्वकप जितिसकेका छन्

पहिलो सेमिफाइनल: फ्रान्स विरुद्ध स्पेन

फ्रान्सको यात्राः

फ्रान्सले समूह चरणमा शानदार प्रदर्शन गर्दै सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेता बन्यो। नकआउट चरणमा स्विडेनलाई ३–० (राउन्ड अफ ३२), पाराग्वेलाई १–० (राउन्ड अफ १६) र क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पाखा लगाउँदै फ्रान्स अन्तिम चारमा प्रवेश गर्यो। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनल पुग्ने कीर्तिमान बनाउन सफल भएको छफ्रान्सले अहिलेसम्म ६ खेलमा १६ गोल गरेको छ भने केवल २ गोल मात्र खाएको छ। टोलीको आक्रामक प्रदर्शन प्रतियोगिताकै उत्कृष्ट रहेको छ

स्पेनको यात्राः

स्पेनले आफ्नो अभियान केप भर्डसँग ०–० को बराबरीबाट सुरु गर्यो। त्यसपछि साउदी अरबलाई ४–० र उरुग्वेलाई १–० ले हराउँदै समूह विजेता बन्यो। नकआउट चरणमा अस्ट्रियालाई ३–० (राउन्ड अफ ३२), पोर्चुगललाई मिकेल मेरिनोको इन्जुरी समयको गोलमार्फत १–० (राउन्ड अफ १६) र बेल्जियमलाई फेरि मेरिनोको ८८औं मिनेटको निर्णायक गोलमा २–१ (क्वार्टरफाइनल) ले पराजित गर्यो। सन् २०१० पछि स्पेन पहिलोपटक विश्वकप सेमिफाइनलमा पुगेको हो। स्पेनको रक्षापंक्ति प्रतियोगिताकै उत्कृष्ट रहँदै आएको छ। टोलीले क्वार्टरफाइनलसम्म आइपुग्दा मात्र १ गोल खाएको थियो। स्पेनको अहिलेको अपराजित यात्रा ३६ खेल पुगेको छ जुन स्पेनको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो

फ्रान्सको सबल पक्षः

फ्रान्ससँग विश्वकै सबैभन्दा घातक र तीव्र गतिको आक्रामक लाइन छ। किलियन एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसेको त्रिदलीय आक्रमण कुनै पनि रक्षापंक्तिका लागि चुनौतीपूर्ण छ। ओलिसेले प्रतियोगितामा सर्वाधिक ५ असिस्ट गरिसकेका छन्। फ्रान्सको अर्को महत्वपूर्ण पक्ष भनेको ठूला खेलहरूको विशाल अनुभव हो। टोली लगातार तेस्रोपटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ। फ्रान्स यो आठौं विश्वकप सेमिफाइनल हो, जुन ब्राजिलको बराबरी हो। प्रति ९० मिनेटमा सबैभन्दा बढी गोल, संयुक्त रूपमा सबैभन्दा बढी सट र उच्चतम अपेक्षित गोल फ्रान्सकै पक्षमा छ

फ्रान्सको दुर्बल पक्षः

केही खेलहरूमा डिफेन्स लाइन निकै अगाडि बढ्दा काउन्टर–अट्याकमा गोल खान सक्ने जोखिम देखिएको छ। यद्यपि, फ्रान्सले अहिलेसम्म मात्र २ गोल खाएको छ जुन उत्कृष्ट रक्षात्मक रेकर्ड हो

स्पेनको सबल पक्षः

स्पेनको रक्षापंक्ति प्रतियोगिताकै उत्कृष्ट हो। टोलीले क्वार्टरफाइनलसम्म मात्र १ गोल खाएको थियो। मिडफिल्डमा बल नियन्त्रण राख्न स्पेन माहिर छ – टोलीले ६६% पोसेसन गरेको छ, जुन प्रतियोगिताकै उच्च हो। स्पेनले अहिलेसम्म ३६ खेलमा अपराजित यात्रा तय गरेको छ। मिकेल मेरिनो ‘सुपर सब’ को रूपमा उदाएका छन् – उनले पोर्चुगल र बेल्जियम विरुद्ध बेन्चबाट आएर निर्णायक गोल गरेका छन्। उनी विश्वकप इतिहासमा नकआउट चरणका दुई खेलमा स्थानापन्नको रूपमा विजयी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। रोड्रि र फाबियान रुइजको मिडफिल्ड जोडीले खेलको गति निर्धारण गर्न सक्छ।

स्पेनको दुर्बल पक्षः

फरवार्ड लाइनमा फिनिसिङको केही कमी देखिएको छ। लामिन यामलले प्रतियोगितामा अहिलेसम्म साउदी अरब विरुद्ध मात्र १ गोल गरेका छन्। मिकेल ओइआर्जाबालले पछिल्ला दुई खेलमा गोल गर्न सकेका छैनन्। खेल जित्नका लागि उनीहरूले बेन्चबाट आउने खेलाडी वा अतिरिक्त समयमा भर पर्नु परिरहेको छ। लामिन यामल र निको विलियम्स जस्ता खेलाडी चोटपटकबाट भर्खरै फर्किएकाले पूर्ण लय समात्न बाँकी छ।

हेरिनुपर्ने स्टार खेलाडी र तथ्याङ्क

किलियन एम्बाप्पे (फ्रान्स) – यस विश्वकपमा ८ गोल गरिसकेका एम्बाप्पे गोल्डेन बुटका मुख्य दाबेदार हुन्। उनी लियोनेल मेसीसँगै शीर्ष गोलकर्ताको दौडमा छन्। एम्बाप्पेको गति र ड्रिब्लिङ रोक्न स्पेनिस डिफेन्सलाई हम्मेहम्मे पर्नेछ। उनी विश्वकपको सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा लियोनेल मेसीभन्दा एक गोल पछाडि मात्र छन्

ओसमान डेम्बेले (फ्रान्स) – उनले ५ गोल गरिसकेका छन्। क्वार्टरफाइनलमा मोरक्को विरुद्धको गोल उनको उत्कृष्ट फर्मको प्रमाण हो

माइकल ओलिसे (फ्रान्स) – प्रतियोगितामा सर्वाधिक ५ असिस्ट

मिकेल मेरिनो (स्पेन) – स्पेनका लागि उनी ‘सुपर सब’ साबित भएका छन्। मात्र १३६ मिनेट मैदानमा बिताए पनि उनले पोर्चुगल (९१औं मिनेट) र बेल्जियम (८८औं मिनेट) विरुद्ध निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनल पुर्याएका हुन्

रोड्रि (स्पेन) – मिडफिल्डको स्तम्भ, बल नियन्त्रण र पासिङमा उत्कृष्ट

लामिन यामल (स्पेन) – सेमिफाइनलको पूर्वसन्ध्यामा १९ वर्ष पुग्ने यामलले अहिलेसम्म अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् तर उनको प्रतिभा कुनैबाट लुकेको छैन

भविष्यवाणी

अप्टा (Opta) सुपरकम्प्युटरका अनुसार फ्रान्स फाइनल पुग्ने सम्भावना ५७.७% छ। फ्रान्सको आक्रामक टोलीले स्पेनको बलियो डिफेन्सलाई तोड्नुपर्ने चुनौती छ। यो ‘अट्याक बनाम डिफेन्स’ को क्लासिक भिडन्त हुनेछ

तथ्याङ्कले फ्रान्सको पक्षमा केही स्पष्ट संकेत गर्छ – फ्रान्सले १६ गोल गर्दा स्पेनले ११ गोल मात्र गरेको छ। फ्रान्सको आक्रमण शक्तिशाली छ भने स्पेनको रक्षा अभेद्य

विशेषज्ञहरूको अनुमानमा फ्रान्सले २–१ को नतिजामा खेल आफ्नो पक्षमा पार्नेछ। फ्रान्सको गहिराइ र एम्बाप्पेको लयले स्पेनको रक्षात्मक रेखालाई तोड्न सक्ने विश्लेषण गरिएको छ।

दोस्रो सेमिफाइनल: इङ्ग्ल्याण्ड विरुद्ध अर्जेन्टिना (England vs Argentina)

इङ्ग्ल्याण्डको यात्राः

इङ्ग्ल्याण्डले समूह चरणमा क्रोएसियालाई ४–२ र पानामालाई २–० ले हरायो भने घानासँग ०–० को बराबरी खेल्यो। नकआउटमा डिआर कङ्गोलाई २–१ (राउन्ड अफ ३२), मेक्सिकोलाई ३–२ (राउन्ड अफ १६) र क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनल तय गर्यो। सन् २०१८ पछि इङ्ग्ल्याण्ड पहिलोपटक विश्वकप सेमिफाइनलमा पुगेको हो।  जुडे बेलिङघम क्वार्टरफाइनलका नायक बने – उनले नर्वे विरुद्ध बराबरी गोल र अतिरिक्त समयमा विजयी गोल गर्दै इङ्ग्ल्याण्डलाई जित दिलाएइङ्ग्ल्याण्डले अहिलेसम्म ६ खेलमा १३ गोल गरेको छ र ६ गोल खाएको छ

अर्जेन्टिनाको यात्राः

अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै शतप्रतिशत नतिजा निकाल्यो। नकआउटमा भने संघर्ष गर्नुपर्यो – केप भर्डलाई अतिरिक्त समयमा ३–२, इजिप्टलाई ३–२ र क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३–१ ले पाखा लगायोजुलियन अल्भारेजले स्विट्जरल्याण्ड विरुद्ध अतिरिक्त समयको ‘वन्डरगोल’ गरे भने लाउटारो मार्टिनेजले ३–१ को जित सुनिश्चित गरे। अर्जेन्टिनाले अहिलेसम्म सबैभन्दा बढी १७ गोल गरेको छ

इङ्ग्ल्याण्डको सबल पक्षः

ह्यारी केन र जुडे बेलिङघम दुवै उच्च फर्ममा छन् – दुवैले ६–६ गोल गरिसकेका छन्। टोली शारीरिक रूपमा निकै बलियो छ र सेट-पिस (set-pieces) मा गोल निकाल्न पोख्त छ। इङ्ग्ल्याण्डले सबैभन्दा बढी हेडेड गोल (४) र हेडेड सट (२४) गरेको छसन् १९६६ पछि पहिलोपटक विश्वकप जित्ने दबाब र भोक दुवै उनीहरूमा देखिन्छ। इङ्ग्ल्याण्डले ओपन प्लेमा क्रसिङमा सबैभन्दा सफलता पाएको छ – प्रत्येक ४ क्रसिङमा १ जना साथीसम्म पुगेको छ

इङ्ग्ल्याण्डको दुर्बल पक्षः

खेलको अन्तिम समयमा डिफेन्समा एकाग्रता गुम्ने समस्या देखिएको छ। इङ्ग्ल्याण्डले सबैभन्दा बढी चान्स दिएको छ। मेक्सिको विरुद्धको खेलमा रातो कार्डको समस्या पनि देखियो।

अर्जेन्टिनाको सबल पक्षः

साविक विजेता टोलीमा लियोनेल मेसीको जादुमयी नेतृत्व छ। मेसीले ८ गोलसँगै सबैभन्दा बढी १५ थ्रु बल आफ्ना साथीहरूलाई दिएका छन्। अल्भारेज, मार्टिनेज, म्याक एलिस्टार र लियान्ड्रो पारेडेसको उपस्थितिले मिडफिल्ड र आक्रमण निकै सन्तुलित छ। टोलीसँग दबाब झेल्दै अतिरिक्त समयमा पनि जित निकाल्ने अद्भुत क्षमता छ – अर्जेन्टिनाका तीनवटै नकआउट खेल अतिरिक्त समयमा गएका थिए।

अर्जेन्टिनाको दुर्बल पक्षः

नकआउटका सबै खेलमा गोल खानु अर्जेन्टिनाको मुख्य कमजोरी बनेको छ। उनीहरूले ६ गोल खाएका छन् र गोल रोक्नमा सबैभन्दा कम सफल भएका छन्। ३९ वर्ष पुगेका मेसीको शारीरिक गतिमा केही ढिलाइ आउँदा टोली काउन्टर–अट्याकमा कतिपय समय सुस्त देखिन्छ। अर्जेन्टिनाले सबैभन्दा कम दौड (प्रति ९० मिनेट) गरेको छ र सबैभन्दा कम स्प्रिन्ट गरेको छ। उनीहरूलाई प्रत्येक खेलमा विपक्षीले बढी दौडेका छन्। प्रेसिङमा पनि अर्जेन्टिना अन्य तीन टोलीको तुलनामा कमजोर छ

अर्जेन्टिनाको हावाहवाई  सफलता दर चारै टोलीमध्ये सबैभन्दा कम छ, जसले इङ्ग्ल्याण्डको हेडेड गोलको खतरालाई झनै बढाउँछ।

हेरिनुपर्ने स्टार खेलाडी र तथ्याङ्क

जुडे बेलिङघम (इङ्ग्ल्याण्ड) – ६ गोल। नर्वे विरुद्ध अतिरिक्त समयमा दुई गोल गर्दै उनले आफ्नो ‘बिग-म्याच’ क्षमता प्रमाणित गरे। मिडफिल्डबाट खेल नियन्त्रण गर्दै नकआउट चरणमा लगातार महत्त्वपूर्ण प्रदर्शन गरिरहेका छन्।

ह्यारी केन (इङ्ग्ल्याण्ड) – ६ गोल। अनुभवी कप्तानको रूपमा उनको नेतृत्व र गोल गर्ने क्षमता इङ्ग्ल्याण्डको मुख्य हतियार हो।

लियोनेल मेसी (अर्जेन्टिना) – ३९ वर्षको उमेरमा पनि मेसीले ८ गोल र १५ थ्रु बल (सर्वाधिक) गर्दै टोलीलाई काँधमा बोकेका छन्। उनी एम्बाप्पेसँगै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। यो उनको पहिलो पटक इङ्ग्ल्याण्ड विरुद्धको खेल हुनेछ र त्यो पनि विश्वकप सेमिफाइनलको ठूलो मञ्चमा

जुलियन अल्भारेज (अर्जेन्टिना) – स्विट्जरल्याण्ड विरुद्ध अतिरिक्त समयको शानदार गोल

लाउटारो मार्टिनेज (अर्जेन्टिना) – स्विट्जरल्याण्ड विरुद्ध अतिरिक्त समयमा गोल गर्दै जित सुनिश्चित

एलेक्सिस म्याक एलिस्टार (अर्जेन्टिना) – स्विट्जरल्याण्ड विरुद्ध १०औं मिनेटमा हेडर गोल

भविष्यवाणी

यी दुई परम्परागत प्रतिद्वन्द्वीबीचको खेल फुटबल इतिहासकै सबैभन्दा रोमान्चक र तनावपूर्ण हुने निश्चित छ। यो १९८६ मा दिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ पछिको सबैभन्दा प्रतिक्षित इङ्ग्ल्याण्ड–अर्जेन्टिना भिडन्त हुनेछ।  अप्टा सुपरकम्प्युटरका अनुसार इङ्ग्ल्याण्डको फाइनल पुग्ने सम्भावना ५०.९४% र अर्जेन्टिनाको ४९.०६% छ। यो लगभग पूर्ण सन्तुलित खेल हो। इङ्ग्ल्याण्डको युवा टोलीले अर्जेन्टिनाको कमजोर डिफेन्सको फाइदा उठाउन सक्छ। अर्जेन्टिनाको हावाहवाईमा कमजोरीले इङ्ग्ल्याण्डको सेट-पिस र हेडेड गोलको खतरालाई झनै बढाउँछतर मेसीको जादु र अर्जेन्टिनाको अतिरिक्त समयमा जित्ने क्षमतालाई कसैले पनि हल्का लिनु हुँदैन। अर्जेन्टिनाका तीनवटै नकआउट खेल अतिरिक्त समयमा गएका थिए र उनीहरूले सबै जिते। यो खेल अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ, जहाँ इङ्ग्ल्याण्डले २–१ वा पेनाल्टीमा बाजी मार्ने अनुमान छ

विश्वकप २०२६ समग्र विजेताको भविष्यवाणी

अप्टा सुपरकम्प्युटरको भविष्यवाणी

अप्टाको २५,००० सिमुलेशनपछिको नतिजा अनुसार:

विश्लेषण

फ्रान्स (३४.०५%) – सबैभन्दा बलियो दाबेदार। टोलीको गहिराइ, एम्बाप्पेको लय, र ठूला खेलको अनुभवले फ्रान्सलाई अगाडि राखेको छ। फ्रान्सको आक्रमण प्रतियोगिताकै सबैभन्दा शक्तिशाली छ

स्पेन (२३.४५%) – उत्कृष्ट रक्षापंक्ति र अपराजित यात्राको बलमा स्पेन दोस्रो स्थानमा। तर फिनिसिङको कमजोरीले उनीहरूलाई पछि पारेको छ

इङ्ग्ल्याण्ड (२१.९४%) – बेलिङघम र केनको फर्म, सेट-पिसको खतरा र शारीरिक बलियोइले इङ्ग्ल्याण्डलाई बलियो दाबेदार बनाएको छ। तर डिफेन्सको कमजोरी चिन्ताको विषय हो

अर्जेन्टिना (२०.५५%) – साविक विजेता भए पनि सबैभन्दा कम सम्भावना। डिफेन्सको कमजोरी, उमेर बढेका मेसीको गतिमा कमी, र कमजोर प्रेसिङले उनीहरूलाई पछाडि पारेको छ। तर अतिरिक्त समयमा जित्ने उनीहरूको क्षमतालाई बेवास्ता गर्न सकिँदैन।