07/09/2026, 17:57:32
बिहिबार, असार २५, २०८३

इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा


संयुक्त राष्ट्रसङ्घ, असार २५ गते । संयुक्त राज्य अमेरिकाले बारम्बार गरेका आक्रमणकारी कार्यहरु संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको बिरुद्धमा भएको भन्दै इरानले कडा शब्दमा निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र जुलाईका लागि सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधन गरेर लेखिएकोे पत्रमा संयुक्त राष्ट्र सङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले अमेरिकाले दक्षिणी इरानका प्रतिष्ठानमा पुनः ठूलो मात्रामा सैन्य आक्रमण गरेको बताउनुभएको छ । निरन्तर भएका इरान विरोधी आक्रमणका कार्यहरू संयुक्त राष्ट्रको बडापत्रको धारा-२ (४) र इस्लामाबाद समझौताको अनुच्छेद-१ को विरुद्ध भएको उहाँले प्रष्ट पार्नुभएको छ ।

नागरिक सुविधालाई जानाजानी लक्षित गरी आक्रमण गर्नुका साथै इरान विरुद्ध सैन्य बलको निरन्तर गैरकानुनी प्रयोगले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको विषयमा जोड दिदै उहाँले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी दायित्वको पूर्ण अवहेलना गरेको बताउनुभएको छ । अमेरिकाले आफ्नो गैरकानुनी बल प्रयोगबाट उत्पन्न हुने सबै परिणामको पूर्ण जिम्मेवारी वहन गर्नु पर्नेसमेत इरवानीले बताउनुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..