07/02/2026, 11:22:24
बिहिबार, असार १८, २०८३

फिफा विश्वकप २०२६: ह्यारी केनको दोहोरो गोलले इंग्ल्याण्ड अन्तिम १६ मा, बेल्जियमको ऐतिहासिक पुनरागमन, घरेलु टोली अमेरिकाको प्रभावशाली जित


फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ का थप तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। इंग्ल्याण्ड, बेल्जियम र संयुक्त राज्य अमेरिका (USA) विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।

इंग्ल्याण्डले डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै नकआउट चरणको कठिन परीक्षा पार गर्यो। खेलको सातौं मिनेटमै ब्रायन सिपेङ्गाले डीआर कङ्गोलाई अग्रता दिलाएका थिए। अधिकांश समय पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बने। उनले ७५औँ र ८६औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए। यो जितसँगै इंग्ल्याण्डले उपाधि यात्रालाई निरन्तरता दिएको छ।

दोस्रो खेलमा बेल्जियमले प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक पुनरागमनमध्ये एक गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले हरायो। हाबिब डियारा (२४’) र इस्माइला सार (५१’) को गोलमा सेनेगल सहज जिततर्फ अघि बढिरहेको अवस्थामा बेल्जियमले अन्तिम समयमा खेलको रूप नै बदलिदियो। रोमेलु लुकाकुले ८६औँ मिनेटमा गोल गर्दै आशा जगाए भने युरी टिलेमान्सले ८९औँ मिनेटमा बराबरी गोल फर्काए। अतिरिक्त समयको इन्जुरी समयमा (१२०+५’) पेनाल्टीमार्फत टिलेमान्सले निर्णायक गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्याए।

घरेलु समर्थकको उत्साहबीच संयुक्त राज्य अमेरिकाले बोस्निया–हर्जेगोभिनालाई २–० ले हरायो। पहिलो हाफको अन्त्यतिर फोलारिन बालोगुनले गोल गर्दै अग्रता दिलाए भने दोस्रो हाफमा मालिक टिलम्यानले सुन्दर गोल गर्दै जित सुनिश्चित गरे। यस जितसँगै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ, जहाँ उसको सामना बेल्जियमसँग हुनेछ।

अब राउण्ड अफ ३२ अन्तर्गत आज तीन महत्वपूर्ण खेल हुँदैछन्। स्पेनले अस्ट्रियासँग, पोर्चुगलले क्रोएसियासँग तथा स्विट्जरल्याण्डले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछन्। यी खेलबाट पनि अन्तिम १६ का थप तीन टोलीको टुंगो लाग्नेछ।