06/21/2026, 14:43:01
आइतबार, असार ०७, २०८३

विश्वकप २०२६: जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को फराकिलो जित


फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ का पछिल्ला खेलहरूले रोमाञ्चक मोड लिएका छन्। चार खेलको क्रम चलिरहँदा सबैभन्दा धेरै चर्चा कमायो जापान र ट्युनिसियाबीचको भिडन्तले, जहाँ जापानले उत्कृष्ट आक्रमण र सन्तुलित खेल प्रस्तुत गर्दै ४–० को प्रभावशाली जित निकाल्यो। जापानले खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै ट्युनिसियामाथि दबाब बनायो। चौथो मिनेटमै डाइची कामाडाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफमै अर्को गोल थपिएपछि जापान थप आत्मविश्वासी देखियो। दोस्रो हाफमा पनि आक्रमणलाई निरन्तरता दिँदै जुन्या इटो र आयासे उएडाले थप गोल गरे। उएडाले व्यक्तिगत रूपमा दुई गोल गर्दै खेलका प्रमुख नायक बने।ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि जापानी रक्षापंक्ति तोड्न सकेन। लगातार कमजोर नतिजापछि टोलीमाथि दबाब बढेको देखिएको छ। अर्कोतर्फ जापान भने समूह चरण पार गर्ने बलियो दाबेदारका रूपमा उभिएको छ। प्रशिक्षक हाजिमे मोरियासुको रणनीति र व्यवस्थित टोली संयोजनले जापानलाई विश्वकपमा खतरनाक टोलीको रूपमा प्रस्तुत गरेको विश्लेषण गरिएको छ। यस खेलसँगै विश्वकप इतिहासको १०००औँ खेल सम्पन्न भएको विशेष क्षण पनि दर्ज भएको छ, जसले यो भिडन्तलाई थप ऐतिहासिक बनाएको छ।