काठमाडौँ, जेठ १७ गते । नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार दुई सय जनाको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन, निकोटिनका नयाँ उत्पादनतर्फ युवापुस्तालाई फसाउँदै छन् ।
सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढाएको जानकारी दिनुभयो । उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठुलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो ।


डा. देवकोटाका अनुसार युवापुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानुनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर एक अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन् ।
दक्षिणपूर्वी एसियामा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोर-किशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूमपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्याङ्क छ । जुन विश्वव्यापी कुल प्रयोगकर्ताको झन्डै ८० प्रतिशत हो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूमपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले युवालाई आकर्षित गरिरहेको बताउनुभयो ।


सुर्तीको स्वाद, आकर्षक प्याकेजिङ, सामाजिक सञ्जाल र डिजिटल विज्ञापनमार्फत किशोर-किशोरीलाई लक्षित गरिरहेको छ । यसलाई रोक्न सरकार, स्वास्थ्यकर्मी र समुदायबिच समन्वयात्मक अभियान आवश्यक रहेको डा. कार्की बताउनुहुन्छ ।
यसो त विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिणपूर्वी एसिया क्षेत्रले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन विश्वकै सबैभन्दा तीव्र प्रगति हासिल गरेको छ । सन् २००० मा वयस्क पुरुषमा ७०.१ प्रतिशत रहेको सुर्ती प्रयोगको दर सन् २०२४ मा ३७.४ प्रतिशतमा झरेको छ भने महिलामा ३८ प्रतिशतबाट ९.३ प्रतिशतमा झरेको छ । सन् २०१० देखि २०२५ बिच वयस्क सुर्ती प्रयोगमा ४० प्रतिशत सापेक्षिक कमी हासिल गर्ने लक्ष्यतर्फ उल्लेखनीय प्रगति गरेको छ । जुन विश्व स्वास्थ्य सङ्गठनको ३० प्रतिशत कमीको लक्ष्यभन्दा माथि रहेको जनाइएको छ ।


राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले युवालाई सही सूचना र सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको लत सुरु हुन नदिन विद्यालय, परिवार र समुदाय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेका अनुसार धूमपानका कारण अस्पतालमा क्यान्सर रोगीको सङ्ख्या बढेको छ । उहाँले चुरोटमाथि कडा नियमन बढ्दै गएपछि सुर्ती तथा निकोटिन उद्योगले इलेक्ट्रोनिक चुरोट, सिन्थेटिक निकोटिन उपकरण र निकोटिन पाउच जस्ता नयाँ उत्पादनको प्रवर्धन गरिरहेको आरोप लगाउनुभयो । ती पदार्थमा स्वादयुक्त उत्पादन, आकर्षक डिजाइन तथा डिजिटल मार्केटिङका माध्यमबाट युवालाई लक्षित गर्ने प्रवृत्तिले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपेको बताउनुभयो ।


उहाँले जनचेतना, कर नीति र उपचार सेवाको पहुँचलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । यसैबिच आइतबार ‘आकर्षणको मुखुन्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँ’ भन्ने मूल नाराका साथ विश्व धूमपानरहित दिवस मनाइँदै छ ।
– सरोज ढुङ्गेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































