

काठमाडौँ, जेठ १५ गते । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत काम गर्ने दुई हजार दुई सय जनाको रोजगारी गुमेको छ ।
विराट मेडिकल कलेजमा उपचारका लागि दैनिक ३० देखि ३५ प्रतिशत स्वास्थ्य बिमामार्फत उपचार गर्ने बिरामी आउँथे । ती बिरामीको व्यवस्थापनका लागि अस्पतालले ११० जना छुट्टै कर्मचारी राखेको थियो । स्वास्थ्य बिमा बन्द हुने भएपछि उनीहरूको रोजगारी गुमेको छ ।
सरकारले १९ वटा निजी मेडिकल कलेज र अन्य अस्पताल गरी ३६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा स्थगित गरेको थियो । ती अस्पतालमा दुई हजार दुई सय कर्मचारी कार्यरत थिए । स्वास्थ्य बिमाबाट हुने उपचारको ४० प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थाबाट उपचार गर्दथे । उनीहरूले निजीमा उपचार गराएबापत २० प्रतिशत उपचार बिमाबाहेकबाट खर्च बेहोर्नु पर्दथ्यो । विराट मेडिकल कलेजमा बिहीबार मात्र विभिन्न रोगको शल्यक्रिया गर्ने ४५ जना बिरामी भर्ना हुन आएका थिए । उनीहरूलाई बिमा कार्यक्रम बन्द भएको सूचना अस्पताल प्रशासनले जानकारी गराएपछि कोहीले विरोध गरेका थिए भने कोही बिरामी सरकारले पूर्वजानकारीबिना बन्द गरेकोमा आक्राेशित थिए ।
स्वास्थ्य बिमा बोर्डमा दैनिक ७० हजार बिरामीको दाबी आउने गर्छ । तीमध्ये ४० देखि ४५ प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थाका हुन् । स्वास्थ्य बिमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबाट रोक्नुपर्ने निर्णय जटिल भएको बताउनुभयो । “यो निर्णय गर्नु उपयुक्त थिएन,” प्रजापतिले भन्नुभयो “तर बोर्डले बाध्यताले निजी अस्पताललाई सेवा दिनबाट बन्द गर्ने निर्णय गर्नु परेको छ ।”
बोर्डले गत मङ्गलबार मात्र निजी स्वास्थ्य संस्थाले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । “यो निर्णयबाट म आफू पनि दुःखी छु,” कार्यकारी निर्देशक प्रजापतिले भन्नुभयो, “तर आर्थिक दायित्वका कारण बोर्डले निजीलाई स्वास्थ्य सेवा दिनबाट स्थगित गर्ने निर्णयमा पुग्यो ।”
उहाँले कुल दाबीमध्ये निजी अस्पतालबाट मात्रै ४० देखि ४५ प्रतिशत दाबी आउने गरेको जानकारी दिनुभयो । “आर्थिक रूपमा धान्नै नसक्ने अवस्थाबाट स्वास्थ्य बिमा बोर्ड अगाडि बढेको छ,” प्रजापतिले भन्नुभयो, “गत मङ्सिरसम्मको दाबी आठ अर्ब छ ।” उहाँले प्रतिमहिना बोर्डमा दुई अर्ब ५० करोडको दाबी आउने गरेको जानकारी दिनुभयो । आर्थिक रूपमा धान्नै नसक्ने अवस्था भएपछि निजी स्वास्थ्य संस्थालाई दिँदै आएको सेवा बन्द गर्नु परेको उहाँको भनाइ छ ।
बोर्डले बढ्दो वित्तीय सङ्कटलाई कारण देखाउँदै शनिबारदेखि लागु हुने गरी निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको थियो ।
– सरोज ढुङ्गेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































