05/27/2026, 18:54:01
बुधबार, जेठ १३, २०८३

बेल्जियमको रेल-मिनीबस दुर्घटनामा चार जनाको मृत्यु


बुगेनहाउट, (बेल्जियम), जेठ १३ गते । बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनी बसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर घाइते भएका छन् ।

ब्रसेल्सबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको उक्त क्षेत्रमा व्यस्त बिहानको समयमा भएको दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । प्रारम्भिक विवरण अनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो ।

इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयकी प्रवक्ता लिसा डे वाइल्डका अनुसार बस चालक, १२ र १५ वर्ष उमेरका दुई बालबालिका तथा एक एस्कर्टको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य बालबालिकालाई गम्भिर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । अधिकारिका अनुसार दुर्घटनाको वास्तविक कारण अझै स्पष्ट हुन बाँकी छ । तर प्रवक्ता डे वाइल्डले प्रारम्भिक जानकारी उद्धृत गर्दै क्रसिङको अवरोध बन्द अवस्थामा रहेको र रातो बत्ती बलिरहेको अवस्थामा पनि मिनीबस अघि बढेको देखिएको बताउनुभयो ।

सङ्घीय प्रहरी प्रवक्ता एन बर्जरका अनुसार मिनीबस चालकले क्रसिङको अवरोध पार गरेको देखिन्छ । यता रेल सञ्चालन निकाय इन्फ्राबेलले क्रसिङ प्रणाली ठिक रूपमा काम गरिरहेको स्पष्ट पारेको छ । इन्फ्राबेलका प्रवक्ता फ्रेडरिक स्याक्रेले रेल करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको र ठक्कर टार्न पर्याप्त समय नभएको बताउनुभयो । उहाँका अनुसार ‘प्रभाव अत्यन्तै हिंस्रक’ थियो ।

घटनास्थलमा उपस्थित एक एएफपी पत्रकारका अनुसार मिनीबस पल्टिएको अवस्थामा भेटिएको थियो र यसको अगाडिको भाग पूर्णरूपमा कुचिएको थियो । रेल भने अपेक्षाकृत सुरक्षित अवस्थामा रहेको बताइएको छ । रेलमा करिब १०० यात्रु सवार रहेको भए पनि कुनै पनि यात्रु घाइते नभएको प्रारम्भिक जानकारीमा उल्लेख छ । दुर्घटनापछि उक्त क्षेत्रमा रेल सेवा केही समयका लागि अवरुद्ध गरिएको थियो ।

स्थानीय अधिकारीले पत्रकार सम्मेलनपछि एक मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बुगेनहाउटमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै सबैको विचार उनीहरूसँग रहेको उल्लेख गर्नुभयो । दुर्घटनास्थल नजिकै रहेको विद्यालय क्षेत्रमा त्यस समयमा बालबालिका बास्केटबल खेल्दै र साइकल चलाउँदै रहेको दृश्यले घटनाको संवेदनशीलता अझ बढाएको स्थानीयले बताएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..