गौशाला (महोत्तरी), जेठ १२ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासी आन्दोलित बनेका छन् । आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् ।
प्रशासनले ५० वर्षभन्दा पुरानो कालापानी वन क्षेत्रमा रहेको बस्ती हटाउने तयारी थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । सोमबार साँझ बस्ती खाली गराउने विषयमा सूचना दिन पुगेका वन कर्मचारीहरूलाई स्थानीयले राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए । त्यसपछि रातिदेखि नै बीपी राजमार्ग अवरुद्ध गर्दै उनीहरूले प्रदर्शन चर्काएका छन् ।
आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । गाडी पूर्ण रूपमा जलेर नष्ट भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले जानकारी दिनुभयो । घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । प्रहरीले हस्तक्षेप गर्दै राति अवरुद्ध सडक खुलाएको र स्थानीयको नियन्त्रणमा रहेका वन कर्मचारीलाई सकुशल उद्धार गरिएको जनाएको छ । तर मङ्गलबार बिहानदेखि पुनः स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका पूर्व वडा सदस्य तथा स्थानीय युवा नेता गणेश बस्नेतले जानकारी दिनुभयो ।
स्थानीयवासीले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट वैकल्पिक व्यवस्था बिना जबर्जस्ती हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । “हामीलाई बसोबासको सुनिश्चितता नभएसम्म आन्दोलन रोकिँदैन,” बर्दिबास–३ का वडा अध्यक्ष विराट विष्टले बताउनुभयो । उहाँले बस्ती नउठाउने स्पष्ट प्रतिबद्धता सरकार र प्रशासनबाट नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।


कालापानी क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीय विरोधका कारण स्थिति सहज हुन सकेको छैन । आन्दोलनकारी र सुरक्षाकर्मीबिच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि हाल कुनै अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार राति केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइए पनि पछि नगर प्रमुख प्रह्लाद क्षेत्रीको जिम्मामा छोडिएको हो ।
स्थानीय बासिन्दाले माग सम्बोधन नगरी बल प्रयोग गरेर हटाउन खोजिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।
हाल कालापानी क्षेत्र तनावपूर्ण अवस्थामा रहेको छ भने स्थिति नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको छ । आन्दोलनका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ । प्रशासन र स्थानीयबिच सहमति नजुटेसम्म अवस्था सामान्य हुने संकेत देखिएको छैन ।
– अजय शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























