05/24/2026, 16:35:57
आइतबार, जेठ १०, २०८३

प्रहरीको पोशाकबाट ‘कुकर कफी’ सम्म : पूर्व एसपी अवधेश विष्टको प्रेरणादायी नयाँ यात्रा


काठमाडौं, जेठ १० गते । नेपाल प्रहरीमा वर्षौँसम्म अनुशासन, जिम्मेवारी र नेतृत्व सम्हालेका पूर्व प्रहरी उपरीक्षक (एसपी) अवधेश विष्ट अहिले भने फरक परिचयका साथ चर्चामा छन्। प्रहरीको कठोर भूमिकाबाट बाहिरिएपछि उनले रोजेको बाटो हो — “कुकर कफी” ।

ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको उनको “प्रेसर कुकर कफी” अहिले युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ । सामान्य कफी पसलभन्दा फरक शैली, पुरानो स्वाद र सिर्जनात्मक प्रस्तुतिका कारण धेरैको ध्यान त्यतातिर तानिएको छ ।

प्रेसर कुकरको बाफबाट तयार गरिने विशेष कफी नै उनको व्यवसायको मुख्य आकर्षण हो । आधुनिक क्याफे संस्कृतिबीच उनले पुरानो शैलीलाई नयाँ स्वादमा प्रस्तुत गरेका छन् । यही फरकपनले “कुकर कफी” अहिले सामाजिक सञ्जालदेखि युवा जमातसम्म चर्चाको विषय बनेको छ ।

प्रहरी सेवामा रहँदै उनले सानो लगानीबाट यो व्यवसाय सुरु गरेका थिए। त्यतिबेला धेरैले “एसपी भएर कफी पसल चलाउने?” भन्दै प्रश्न उठाए । तर विष्टले आलोचनालाई कमजोरी होइन, प्रेरणाको रूपमा लिए। आज त्यही सोचले उनलाई सफल उद्यमीको रूपमा चिनाएको छ । उनको भनाइमा, कुनै पनि काम सानो हुँदैन, सोच सानो हुनु हुँदैन। जागिरपछि जीवन रोकिन्न, नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश उनले आफ्नै यात्राबाट दिएका छन् ।

विशेषगरी युवाहरूका लागि अवधेश विष्टको यात्रा प्रेरणादायी बनेको छ । सरकारी जागिर वा विदेश मात्र सफलताको बाटो होइन, सिर्जनात्मक सोच र मेहनत भए आफ्नै देशमा पनि फरक पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण उनी बनेका छन् ।

अहिले “कुकर कफी” केवल कफीको स्वादमा सीमित छैन, यो संघर्ष, आत्मविश्वास र नयाँ सोचको प्रतीक बनेको छ। प्रहरीको पोशाक उतारेपछि पनि समाजमा फरक ढंगले चिनिन सकिन्छ भन्ने उदाहरणका रूपमा धेरै युवाले अवधेश विष्टलाई हेर्न थालेका छन् ।

– खेमराज भट्ट