वासिङ्टन, वैशाख ३१ गते । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी हुने टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा प्राप्त गर्न समर्थकले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।
ट्रम्प प्रशासनले हालै लागु गरेको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिकी अधिकारीका अनुसार ती नागरिक अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गर्न सकिने छ ।
तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदारले अमेरिका विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि बलियो राख्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ ।” उहाँका अनुसार ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो र उत्कृष्ट फिफा विश्वकप आयोजना गर्ने लक्ष्य राखेको छ । फिफाले पनि अमेरिकी निर्णयलाई स्वागत गरेको छ । फिफाका प्रवक्ताले जारी गरेको वक्तव्यमा अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय कार्यक्रम बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।
यद्यपि सहजता दिइए पनि केही देशका समर्थक अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका पाँच देशका नागरिक भने अझै भिसा बन्ड नीतिबाट प्रभावित हुने छन् । ती देशमा अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया रहेका छन् । यसका अतिरिक्त, विश्वकपमा छनोट भएका कम्तीमा दुई देशका नागरिकमाथि ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ ।
तीमध्ये एक पश्चिमी गोलार्धको सबैभन्दा गरिब राष्ट्र मानिने हाइटी हो । अर्को इरान हो, जहाँ अमेरिका र इजरायलसँगको सैन्य तनाव चर्किरहेका कारण त्यहाँका नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीचको तनाव अझ बढेको थियो । त्यसपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ ।
ट्रम्प प्रशासनले मित्रवत पश्चिमी मुलुकका यात्रुमाथिसमेत निगरानी बढाएको छ । नयाँ व्यवस्थाअनुसार अमेरिका प्रवेश गर्न चाहने कतिपय विदेशी आगन्तुकले आफ्ना सामाजिक सञ्जाल गतिविधि अमेरिकी सरकारलाई हेर्न अनुमति दिनुपर्ने छ । यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको अतिरिक्त छानबिनका रूपमा हेरिएको छ ।
यसबिच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थक भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकालेको छ । अध्ययन अनुसार हाइटीले आफ्ना खेल घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ । विशेष गरी बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि यो नीति आर्थिक रूपमा निकै भारी बन्ने देखिएको छ ।
अध्ययनले ती देशमा १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न असम्भव जस्तै बनाउने विश्लेषण गरिएको छ ।
सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्दैछन् । प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा हेरिएको छ र प्रतियोगितामा लाखौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































