05/11/2026, 17:30:21
सोमबार, बैशाख २८, २०८३

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने छ : राष्ट्रपति पौडेल


काठमाडौँ, वैशाख २८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउनुभएको छ ।

सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउँदै राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनको बहसपत्र तयार गर्ने, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गर्ने बताउनुभयो । त्यस्तै, मिटरव्याज र अत्यधिक व्याज लिने प्रबृत्तिको अन्त्य गर्नका लागि व्याज निर्धारण गरिने बताउनुभएको छ ।

सोही अनुसार सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार गाभ्ने र तिनीहरुको सेवाको वर्गीकरण अनुसार अगाडि बढ्ने बताउनुभयो । त्यस्तै, व्यापार घाटा न्युनीकरणको आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।

लगानी क्षेत्रको विस्तार गर्दै लगानी जोखिम कम गर्ने बताउनुभयो । महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गरिने पनि उहाँले बताउनुभयो । ढुङ्गा, बालुवा, गिटीलगायतका पारदर्शी उपयोग तथा अवैध उत्खननमा निरुत्साहन गरिने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गरी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको प्रतिक्षा समय घटाइने बताउनुभयो । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउनका लागि कुटनीतिक पहल गरिने उहाँले बताउनुभयो । पर्यटकको नेपालमा बसाइ अवधि बढाउन पहल लिइने बताउँदै उहाँले देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ लगायतका महत्त्वपूर्ण धार्मिक स्थलको प्रवर्धन गरी धार्मिक पर्यटक भित्र्याउने नीति लिइने उहाँले बताउनुभयो । नेपाललाई साहसिक पर्यटकको गन्तव्य बनाउनेगरी योजनासहित काम गरिने बताउँदै उहाँले प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने बताउनुभयो ।

पर्यटन क्षेत्रको नयाँ गन्तव्यको प्रवर्धन गरिने बताउँदै उहाँले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी मोडलमा प्रवर्धन गरिने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा र रोजगार प्रणालीलाई एकीकृत गरिने उहाँले बताउनुभयो । सरकार, रोजगारदाता र श्रमिकबिच सम्बन्ध विस्तार गरिने उहाँले बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित बनाइने उहाँले बताउनुभयो ।