काठमाडौँ, वैशाख १३ गते । काठमाडौंका स्थानीय तहहरूले निजी विद्यालयले लिन पाउने शुल्क तोकेका छन् । काठमाडौंका बुढानीलकण्ठ, नार्गाजुन र कीर्तिपुर नगरपालिकाले निजी विद्यालयले लिन पाउने अधिकतम र न्यूनतम शुल्क निर्धारण गरेका हुन् । निजी विद्यालयको वर्गीकरण गर्दै शुल्क तोकिएको जानकारी नगरपालिकाहरूले वेबसाइटबाट दिएका छन् । निजी विद्यालयको शुल्क निर्धारण गरेर विद्यालय सञ्चालनको निर्णय गरिएको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले जनाए ।
नगरपालिकाहरूले प्रारम्भिक बालविकास कक्षा (ईसीडी) मा न्यूनतम २ हजार ४ सयदेखि कक्षा १० मा अधिकतम ७ हजार ७ सय ५५ रुपैयाँसम्म मासिक शुल्क लिन पाउने गरी शुल्क तोकेका छन् । क, ख, ग श्रेणीमा निजी विद्यालयको वर्गीकरण गरी शुल्क तोकिएको छ । शुल्क तोकिएको तालिका अनुसार एउटै श्रेणीको विद्यालयले पनि नगरपालिका अनुसार फरक/फरक शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
बुढानीलकण्ठले प्ले ग्रुपको मासिक शुल्क २८ सय ६०, नर्सरीको २९ सय ६०, एलकेजीको ३ हजार ८० र यूकेजीको ३१ सय ९० रुपैयाँ शुल्क तोकेको छ । नागार्जुन नगरपालिकाले नर्सरीमा २४ सयदेखि ३७ सयसम्म शुल्क लिन पाउने तोकेको छ । ‘क’ श्रेणीको विद्यालयले नर्सरीमा ३ हजार ७ सय ५, ‘ख’ श्रेणीले ३ हजार र ‘ग’ श्रेणीले २ हजार ४ सय लिन पाउनेछन् । विद्यालयको वर्गीकरणको आधारमा शुल्क तोकिएको नगरपालिकाका उपसचिव कृष्णबहादुर कुँवरले जनाए ।


कीर्तिपुर नगरपालिकाले भने तहगत रुपमा शुल्क तोकेको छ । विद्यालयले क देखि घ गरी ४ श्रेणीमा वर्गीकरण गरिएको छ । कक्षा १–५ का क श्रेणीका विद्यालयले ४ हजार ८ सय १४, ख श्रेणीले ४ हजार १२, ग श्रेणीले ३ हजार २ सय ८ र घ श्रेणीका विद्यालयले मासिक २ हजार ४ सय ६ रुपैंया शुल्क लिन पाउने नगरपालिकाले जनाएको छ । नागार्जुन नगरपालिकाले कक्षा १ मा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ४ हजार २ सय, ३ हजार ३ सय ७५ र २ हजार ७ सय शुल्क लिन पाउने निर्णय गरेको छ ।
बुढानीलकण्ठ नगरपालिकाले भने कक्षा १ मा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ४ हजार २ सय ९०, ३ हजार ५ सय ७५ र २ हजार ८ सय ६० शुल्क तोकेको छ । बुढानीलकण्ठमा कक्षा ८ मा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ५६ सय, ४ हजार ६ सय ७५ र ३ हजार ७ सय ४० रुपैयाँ शुल्क लिन पाउने भएका छन् । नागार्जुन नगरपालिकाले कक्षा ८ मा ‘क’,’ ख’ र ‘ग’ श्रेणीका विद्यालयले क्रमशः ५३२५, ४२५० र ३४०० शुल्क निर्धारण गरेको छ ।


कीर्तिपुरमा कक्षा ६–८ मा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले क्रमशः ५५०१, ४५८४, ३६३७ शुल्क तोकिएको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकामा कक्षा ९–१० को अधिकत्तम शुल्क ७४३६ र न्यूनतम शुल्क ३७४३ तोकिएको छ । नागार्जुन नगरपालिकाका ‘क’ श्रेणीका विद्यालयले कक्षा १२ मा अधिकतम ७ हजार शुल्क लिन पाउने नगरपालिकाले जनाएको छ । कक्षा १० मा नागार्जुनका विद्यालयले ५९५० भन्दा बढी मासिक शुल्क लिन पाउँदैनन् । बुढानीलकण्ठमा ‘क’ वर्गका विद्यालयले कक्षा १० मा ७७५५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।
संस्थागत (निजी) विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशका २०७२ अनुसार निजी स्कुलले शुल्क लिन पाउने व्यवस्था छ । निर्देशिकामा विद्यालयको श्रेणी विभाजन र शुल्क तोक्ने मापदण्ड तोकिएको छ । शिक्षा मन्त्रालयले निर्देशिकाअनुसार मात्र शुल्क लिन विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको थियो ।
निर्देशिकामा निजी विद्यालयले विभिन्न १४ वटा शीर्षकमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । मासिक पढाइ, वार्षिक, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास, भोजन, परिवहन (यातायात), शैक्षिक भ्रमण, अन्तरविद्यालय प्रतियोगिता सञ्चालन र शैक्षिक सामग्रीका लागि शुल्क लिन पाउने उल्लेख छ । भर्ना शुल्क १ महिनाको मासिक शुल्क बराबर एक पटक मात्र लिन पाइन्छ ।
वार्षिक शुल्क दुई महिनाको मासिक शुल्कभन्दा लिन पाइँदैन । परीक्षा शुल्क मासिक शुल्कको ५० प्रतिशतभन्दा बढी लिन नपाइने निर्देशिकामा उल्लेख छ । स्थानीय तहबाट शुल्क स्वीकृत लगाएर मात्र अभिभावकसँग निजी शुल्कले शुल्क लिनुपर्ने कानुन छ ।
– सुदीप कैनी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































