04/26/2026, 19:28:39
आइतबार, बैशाख १३, २०८३

‘विधायिकी प्रक्रियाबाट जनताको समस्या समाधान गरियोस्’


काठमाडौँ, वैशाख १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताउनुभएको हो । सरकारले कानुन निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।

प्रवक्ता शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताउनुभयो । उहाँले सुकुमवासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापन जस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा राख्नुभयो । उहाँले अन्तरसरकारी समन्वयो अभावका कारण सङ्घ सरकारले गर्ने कतिपय निर्णयहरू प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले दुई दिन बिदा दिने भनेको छ । हाम्रो जिल्लामा एक दुई पालिकाले हामीले मान्दैनौँ भनिसके । अनि सरकार कसरी चल्छ ? यससम्बन्धी कुनै कानुन छैन । रास्वपाका माननीय सांसद र दलका उपनेता यहाँ हुनुहुन्छ । संसद् चलाउनुहोस् । संसद्‌बाट नभाग्नुहोस् । संसद भनेको जनताको आवाज बोल्ने थलो हो भने सरकार त्यसको कार्यान्वयन गर्ने हो । जब सरकार बलियो हुन्छ तब संसद्‌को आवश्यकता झन ठहरिन्छ । किनकी हामी प्रजातान्त्रिक अभ्यासमा छौँ । कानुन बनाउनुपर्ने छ । अहिले सुकुमवासीको समस्या छ । अहिले कानुन नबनाइकन सुकुमवासीको व्यवस्थापन गर्न सक्नुहुन्छ ? अहिले अड्केको भूमिसुधार ऐनले होइन ? अनि भूमिसुधार ऐन कसले बनाउने हो ? रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ? ऐन बनाउने त संसद्‌ले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्‍याे भने केपी ओलीको हालत हुन्छ । संसद् हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुस् ।

उहाँले सङ्घीयताका कारण मुलुकमा अतिरिक्त आर्थिक भार थपिएको भन्दै सरकारले प्रदेश खारेज गर्न चाहेको खण्डमा पार्टी सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।