काठमाडौँ, वैशाख ४ गते । निजी विद्यालयको शुल्कसम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका भ्रमपूर्ण र अतिरञ्जित सामग्रीप्रति निजी विद्यालयसम्बद्ध संस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
विभिन्न निजी विद्यालयसम्बद्ध सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरू नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्था भएको र शिक्षा ऐन, नियमावली तथा सम्बन्धित निर्देशकअनुसार सञ्चालन हुँदै आएको स्पष्ट पारेका छन्। शुल्क निर्धारणसम्बन्धी प्रचलित कानुनी व्यवस्था र मापदण्ड अनुसार नै विद्यालयले सेवा प्रवाह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विद्यालयले प्रदान गर्ने शैक्षिक सेवा, भौतिक पूर्वाधार, शिक्षक–कर्मचारीको पारिश्रमिक तथा अतिरिक्त सेवाहरूका आधारमा शुल्क निर्धारण हुने उल्लेख गरिएको छ। साथै, अभिभावकसँग छलफल तथा समन्वय गरेर शुल्कसम्बन्धी निर्णय लिने अभ्यास रहेको पनि जनाइएको छ।सङ्घसंस्थाले विद्यार्थी र अभिभावकमा भ्रम सिर्जना हुने गरी विद्यालयप्रति नकारात्मक प्रचारप्रसार नगर्न आग्रह गर्दै यस्ता गतिविधिले समग्र शैक्षिक वातावरणमा असर पर्ने बताएका छन्।
कुनै गुनासो वा समस्या भए सम्बन्धित निकाय वा विद्यालय प्रशासनमार्फत समाधान खोज्नसमेत अनुरोध गरिएको छ।
विज्ञप्तिमा निजी विद्यालय सेवामूलक संस्थाका रूपमा शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
साथै, अभिभावकको आवश्यकता र क्षमता अनुसार विद्यालय छनोट गर्ने अधिकार सुनिश्चित रहेको भन्दै सहकार्य र समन्वयमार्फत शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउनेमा जोड दिइएको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































