04/08/2026, 17:09:42
बुधबार, चैत २५, २०८२

नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न सरकार र राजनीतिक दलहरूलाई सांसद पुनको आग्रह


काठमाडौँ, चैत २५ गते । प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरूलाई नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले नेपालमा लामो समयदेखि भाइरसका रूपमा नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादले जरा गाडेर बसेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘यो भाइरस नेपाल एकीकरणपछिको कालखण्डदेखि सुरु भई विभिन्न राजनीतिक परिवर्तन राणा शासन, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको आन्दोलनपछि पनि समाप्त हुन सकेको छैन। यो प्रवृत्तिले अझैसम्म पनि देशलाई छोडेको छैन।’

 

नयाँ सरकार र नयाँ सांसदहरूलाई यस प्रवृत्तिबाट मुक्त हुन नसकेको बताए।

उनले थपे, ‘अबदेखि कुनै पनि नेता वा मन्त्रीले आफ्ना नातागोता, आफन्त वा इष्टमित्रलाई लाभ हुने पदमा नियुक्ति गरेको खबर सुन्न नपरोस्। यस्तो कार्य जारी रहेमा अन्ततः घाटा राजनीतिक दल र नेताहरूकै हुनेछ।’

उनले जनताको समर्थनमा सरकार सञ्चालन गर्न चाहने जोसुकैले पनि पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली अपनाउनुपर्ने बताए। नेपालको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने तथा बलियो मन्त्रालय गठन गर्नुपर्ने बताएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..