04/07/2026, 03:30:18
सोमबार, चैत २३, २०८२

लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ


हेटौँडा, चैत २३ गते । लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ जना चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान अपरेशन ड्रप अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत सडक खण्डमा गरेको आकस्मिक चेकजाँचको क्रममा ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागुऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएको हो ।

लागुऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्तो कार्यविरुद्ध चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई व्यापक रूपमा निरन्तरता दिइने उहाँको भनाइ छ । सवारी चालकलाई लागुऔषध सेवन नगरी जिम्मेवार ढङ्गले सवारी चलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

साथै हेटौँडामा बिचौलिया तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन ड्रप’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष अभियान ‘अपरेसन ड्रप’ मार्फत् १८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले यात्रुहरुलाई अनावश्यक हैरानी दिने, गैर–व्यावसायिक क्रियाकलाप गर्ने, गुण्डागर्दी तथा आपराधिक गतिविधिहरुमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन उक्त अभियान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

blog

अभियान अन्तर्गत चैत २१ र २२ गते हेटौँडाका विभिन्न स्थानबाट १८ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा बस्ने १७ जना र रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिकाका एक जना रहेका छन् ।

प्रहरीले हेटौँडा –१ बस्ने २२ बर्षिय नसिब बर्तौला, ३३ बर्षिय फारोक अन्सारी, हेटौँडा –११ का ४८ बर्षिय बद्रीबहादुर तामाङ, २९ बर्षिय सुरज थिङ, १९ बर्षिय सुभम थिङ, २५ बर्षिय नवराज गुरुङ, हेटौँडा १३ बस्ने ३० बर्षिय सुगम लोप्चन, २१ बर्षिय राजेश ओझा, हेटौँडा –१२ बस्ने ३२ बर्षिय कमल सिंह भ्लोन, ३२ बर्षिय सन्तकुमार महर्जन, २७ बर्षिय दिपेश लामा, २८ बर्षिय अजयसिंह स्याङतान, ३२ बर्षिय अरुण स्याङ्तान, ३२ बर्षिय सविन थिङ, हेटौँडा १९ बस्ने ३६ बर्षिय अर्जुन भ्लोन तामाङ, हेटौँडा १४ बा १९ बर्षिय राहुल तामाङ, हेटौँडा –६ का २१ बर्षिय नवीन गौतम र रौतहट फतुवा बिजयपुर नगरपालिका –१० बस्ने २८ बर्षिय रबि तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, राष्ट्रिय राजमार्गमा पार्किङ गरी राखिएका सवारी साधनहरू हटाइएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा १, वडा २, वडा ४, वडा १०, वडा ११ क्षेत्रमा पर्ने हाइवेमा अनाश्यक पार्किङ गरी राखेका सवारी साधनहरू हटाइएको छ । साथै, प्रहरीले भोलि मङ्गलवारदेखि राजमार्गको दायाँबायाँ सवारी साधन पार्किङ नगर्न समेत आम जनसमुदायमा अनुरोध गरेको छ । राष्ट्रिय राजमार्गको दायाँबायाँ पार्किङ गरेकोे पाइएमा कानुन बमोजिम कारवाही गरिने मकवानपुर प्रहरीले जनाएको छ ।

– अनिल पराजुली