काठमाडौँ, चैत १५ गते । मालपोत कार्यालय, धनकुटाको तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उनीहरुविरुद्ध मालपोत कार्यालय, धनकुटाले साविक तांखुवा गाउँ विकास समिति वडा नं. ९ स्थित कित्ता नं. ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गाहरु व्यक्तिको नाममा कायम हुने गरी दर्ता गरी गराई भ्रष्टाचार गरेको आरोप लागेको छ ।
आयोगका अनुसार थपलियासहित छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंक प्रसाद दुवाडी, छुट जग्गा दर्ता समितिका सदस्य तथा नापी कार्यालय, धनकुटाका तत्कालीन सर्भेक्षक राजेन्द्रप्रसाद यादव, मालपोत कार्यालय, धनकुटाका तत्कालीन नायब सुब्बा छविलाल फूयलविरुद्ध ६७ लाख ६८ हजार रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साविक तांखुवा गाउँ विकास समितिको कार्यालय, धनकुटाको तत्कालीन गाउँ विकास समितिका सचिव भक्त बहादुर भट्टराई, छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधव बहादुर भट्टराईविरुद्ध ७७ लाख ६८ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी हालका जग्गाधनीहरु खगेन्द्र बहादुर थापा, हिमादेवी बस्नेत, त्रान कुमारी मगर, मित्र बहादुर मगर, अम्बर बहादुर मगर, पदम बहादुर सिजाली, निर्मला घिमिरे, ईन्द्र बहादुर मगर र स्वर्गिय पूर्ण बहादुर थापाको हक सकार गर्ने गजेन्द्र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को दहाय ९ज० बमोजिमको कसुरमा बिगो रकम ६७ लाख ६८ हजार रुपियाँ कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीहरु भक्त बहादुर भट्टराई र माधव बहादुर भट्टराई उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (३) बमोजिमको कसुरमा समेत सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
