काठमाडौँ, चैत १३ गते । पश्चिम एसियामा जारी युद्धका कारण विश्वका विभिन्न मुलुकले विद्यालय एवं विश्वविद्यालय बन्द गर्नेदेखि सातामा ४ दिन मात्र कार्यालय सञ्चालन गर्नेसम्म गरिरहेका छन् । युद्धको प्रभाव नेपालका भान्सादेखि बजारसम्म पर्दै गएको छ । नेपालका उपभोक्तामा पनि चिन्ता बढ्न थालेको छ ।
शंखमूलका श्री देउराली स्टोर र रोनिश जनरल स्टोरका सञ्चालक अझै पनि ग्यास सहज रुपमा उपलब्ध नभएको बताउँछन् । श्री देउराली स्टोरले श्री ग्यास र रोनिश जनरल स्टोरले हिमाल ग्यास बिक्री गर्दै आएका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ एवं ग्यासको सहज आपूर्ति गराउन आगामी तीन महिनासम्मको योजना बनाइसकेको बताए । ‘परिमाणभन्दा मूल्यमा समस्या हो, ग्यास सहज भइसकेको छ,’ उनले भने, ‘कृत्रिम अभाव हुँदा दिनको अधिकतम साढे २ लाखसम्म सिलिन्डर खपत भएको थियो, अहिले डेढ लाखमा झरिसकेको छ ।’
नेपाल आयल निगमले अभाव नरहेको दाबी गर्दै आए पनि एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द खुद्रा पसलमा सहजै ग्यास पाउने अवस्था आइनसकेको बताउँछन् । ‘डिलरमा ग्यासका लागि नाम टिपाएको २–३ दिनभित्र पाइने अवस्था छ,’ उनी भन्छन्, ‘तर खुद्रा पसलमा ग्यास पाइने वा भरिएको ग्यास स्टक बस्ने अवस्था बनिसकेको छैन ।’
७.१ किलोको ग्यास बिक्री गर्न थालेपछि पहिलाको भन्दा सहज भएको उनको तर्क छ । नेपाल आयल निगमको टेकु डिपोबाट भने दैनिक ग्यास वितरण भइरहेको छ । ‘भरिएको ग्यास सिलिन्डर आउला अनि बेचौंला भन्ने स्थिति छैन, ग्यास नपाएर भोकै मर्ने अवस्था पनि छैन,’ चन्दले भने ।
निगमका कार्यकारी निर्देशक भट्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै पछिल्लो पटक इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई पेट्रोलमा ३१, डिजेलमा ५४ रुपैयाँ वृद्धि गरेर नयाँ मूल्य सूची पठाएको थियो । १ चैतमा निगमले पेट्रोलमा प्रतिलिटर १५, डिजेल र मट्टीतेलमा १० रुपैयाँले बढाएको थियो । त्यसको ११ दिन नपुग्दै निगमले फेरि पेट्रोलमा लिटरको १५ र डिजेलमा १५ रुपैयाँ बढाएको छ । एकै पटक उपभोक्तालाई आर्थिक भार नपरोस् भनेर दुई पटक मूल्य वृद्धि गरिएको भट्टको भनाइ छ ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग सीमित देशका लागि ठप्प प्रायः छ । पश्चिम एसियाबाट ग्यास तथा कच्चा तेल किन्ने गरेका एसियाली देश मर्कामा छन् । मागमा तीव्र वृद्धि र विश्वव्यापी भूराजनीतिक तनावसँग जोडिएको आयात अनिश्चिततासँगै आयातमा निर्भर एसियाली देशको इन्धन आपूर्ति दबाबमा छ ।

एसियाली मुलुकका लागि स्ट्रेट अफ हर्मुजबाट ८० प्रतिशत कच्चा तेल आपूर्ति हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । ‘स्ट्रेट अफ हर्मुज’ मा आएको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिलाई कसिलो बनाएको छ, जसले सरकारहरूलाई अभाव र बढ्दो लागत व्यवस्थापन गर्न द्रुत गतिमा कदम चाल्न बाध्य पारेको छ । छिमेकी मुलुकमा समेत उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण र कालोबजारी गरेको भन्दै भारतको पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले त्यस्तो नगर्न आग्रह गरेको छ । पेट्रोलियम तथा एलपी ग्यास आपूर्तिको स्थिति पूर्ण रूपले सुरक्षित र नियन्त्रणमा रहेको मन्त्रालयको दाबी छ ।
‘सबै खुद्रा र इन्धन बिक्री केन्द्रमा पर्याप्त आपूर्ति छ, पेट्रोल, डिजल वा एलपी ग्यासको कमी छैन,’ भारतको पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयको विज्ञप्तिमा छ, ‘हर्मुज जलमार्गमा समस्या आए पनि भारतले विश्वभरका ४१ भन्दा धेरै आपूर्तिकर्ताबाट कच्चा तेल खरिद गरिरहेको र हरेक रिफाइनरीले शतप्रतिशत क्षमता उपयोग गरिरहेका छन् ।’ भारतका लागि ६० दिनलाई पुग्ने कच्चा तेलको व्यवस्था भारतीय तेल कम्पनीहरूले गरिसकेको दाबी गरिएको छ ।
पेट्रोलियम पदार्थ र ग्यासका लागि नेपाल पूर्ण रूपमा भारतसँग निर्भर छ । नेपालसँग पेट्रोलियम पदार्थको भण्डारण भए पनि ग्यासको भण्डारण छैन । भारतले भने ७४ दिनको भण्डारण र वास्तविक भण्डारण ६० दिनको (कच्चा तेल, उत्पादित अनि रणनीतिक भण्डारणसहित) उपलब्ध रहेको भन्दै आगामी दुई महिनाका लागि खरिद गरी सुरक्षित गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
२०७६ देखि मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल आयात हुँदै आएको छ । २०८१ बाट पेट्रोल, डिजेल र मट्टीतेलसमेत पाइपलाइनबाट आयात भइरहेको छ । कुल खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउने गरेको निगमले जनाएको छ । अमलेखगन्ज डिपोमा २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोलसहित ४३ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ ।

स्थानीय बिक्रीका अतिरिक्त अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा इन्धन पठाइन्छ । डिपोबाट पेट्रोल पम्पहरूले इन्धन लिने गरेका छन् । मुलुकमा दिनको २ हजारदेखि २५ सय किलोलिटर पेट्रोल, ४५ सयदेखि ५ हजार किलोलिटर डिजेल र ६ सय किलोलिटर हवाई इन्धन खपत हुन्छ । पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटर पेट्रोलियम आयात गर्न सकिने निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको भण्डारण ८० प्रतिशतभन्दा घटाउने नगरिएको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । ‘निगमले पेट्रोलियम भण्डारणलाई ८० प्रतिशतभन्दा तल जान दिएको छैन,’ उनले भने । अभावको हल्ला फैलिएका बेला दिनमा १६ लाख लिटर दिँदासमेत नपुगेको उनको भनाइ छ । पाइपलाइनबाट चौबिसै घण्टा ल्याउन सकिने उनको दाबीसमेत छ ।
नेपालमा ग्यासको आपूर्ति तुलनात्मक रूपमा सहज भए पनि भारतमै भने अझै पनि उस्तै छ । यसैबीच भारतको पेट्रोलियम मन्त्रालयले आवश्यकताभन्दा बढी जम्मा गर्ने र कालो बजारीलाई रोकथाम गर्न सबै राज्यहरूसँग छलफल गरी व्यावसायिक सिलिन्डरको कोटा ५० प्रतिशत बढाइसकेको छ ।
भारतका उद्योगीहरूले दैनिक ५० लाखभन्दा धेरै सिलिन्डर वितरण गरिरहेको समेत जनाएका छन् । आवश्यकताभन्दा बढी ग्यास खरिद गर्दा सिलिन्डरको माग बढेर ८९ लाख पुगेको थियो । अहिले घटेर ५० लाखमा सीमित भएको भारतीय मन्त्रालयले बताएको छ । भारत सरकारले राज्य सरकारहरूसँग मिलेर पाइपद्वारा प्राकृतिक ग्यास आपूर्तिमा समेत प्रोत्साहित गरिरहेको छ ।
इरान युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग प्रभावित हुँदा त्यसको असर एसियाली मुलुकमा परिसकेको छ । त्यसकारण पेट्रोलियमको मूल्य श्रीलंकाले २५ प्रतिशतले बढाएको छ । र, सातामा चार दिन मात्र काम गर्ने प्रणाली लागू गर्दै धेरैजसो क्षेत्रका लागि बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । अत्यावश्यक सेवा क्षेत्रमा भने बिदा लागू गरिएको छैन । क्यूआर कोडमा आधारित इन्धन रासन प्रणाली सुरु गरी कारका लागि सातामा १५ लिटर र बसका लागि ६० लिटर इन्धनको सीमा नै तोकिएको छ ।

पाकिस्तानले मार्च १६ देखि दुई साताका लागि विद्यालय बन्द गरिसकेको छ । विश्वविद्यालयहरूले अनलाइन कक्षा चलाइरहेका छन् । सरकारी कार्यालय सातामा चार दिन सञ्चालन भइरहेका छन्, जहाँ अत्यावश्यक सेवाबाहेक अन्यमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालय बोलाइएको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा संकटकाल घोषणा गर्ने फिलिपिन्स पहिलो देश हो । फिलिपिन्समा बुधबार राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गरिएको छ । युद्धले स्ट्रेट अफ हर्मुजमा अवरोध देखिँदा विश्व बजारमा इन्धन अभाव तथा मूल्यवृद्धि भइरहेको छ ।
फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ । त्यहाँ सरकारी कर्मचारीले सातामा चार दिन काम गरिरहेका छन् । बंगलादेशले समेत सबै विश्वविद्यालय बन्द गरिसकेको छ । बुधबारसम्म देशको डिजेल मौज्दात १.७ लाख टन रहेकाले १३ दिनका लागि पर्याप्त छ ।
पेट्रोलको भण्डारण १५ हजार टन अनुमान गरिएकाले १० दिनका लागि पर्याप्त हुने दी डेली स्टारमा उल्लेख छ । तर पनि उपभोक्ता पेट्रोलियम पदार्थ लिनका लागि लाइनमै छन् ।
– सीमा तामाङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
