04/07/2026, 04:00:15
सोमबार, चैत २३, २०८२

जय ट्रफी प्रतियोगितामा टिम थपिन सक्छ : पारस खड्का


काठमाडौँ, चैत ७ गते : जय ट्रफी चार टोलीबीच मात्र खेलाइएका कारण राष्ट्रिय टोलीकै संरचनामा रहेका दीपेन्द्रसिंह ऐरी, नन्दन यादव, अनिल साह, पवन सर्राफलगायतका खेलाडीले खेल्न पाएनन् । गत वर्ष मधेश प्रदेशले जय ट्रफी खेलेको थियो भने यस पटक एपीएफ प्रधानमन्त्री कपको शीर्ष चारमा पर्दै मधेशको स्थान लिएको थियो । अन्य ५ प्रदेशले भने अझै जय ट्रफी खेल्न पाएका छैनन् ।

क्यान घरेलु क्रिकेटको नयाँ संरचनामा लागि रहेको, जसमा प्रथम श्रेणीको क्रिकेट जस्तो कुनै प्रतियोगिता होस् भन्ने चाहेको क्यानका सचिव पारस खड्का बताउँछन् । अहिलेको संरचनाको महत्त्व बुझ्न पहिलो दुई वर्ष यसको परीक्षण गरेको तथा खेलाडी, प्रशिक्षक सबैबाट क्यानले निकै राम्रो ‘फिडब्याक’ पाएको जनाउँछन् । खेलाडीहरूलाई आफ्नो खेल विकास गर्न जय ट्रफीजस्तो प्रतियोगिताले निकै सहयोग गर्नेमा उनी पनि पूर्ण विश्वस्त छन् ।

निश्चय पनि अर्को वर्षको जय ट्रफीमा केही परिवर्तन आउनेछ । दुईदिवसीय गर्ने कि तीनदिवसीय गर्ने भनेर हामी छलफलमै छौं । प्रतियोगिता गर्दा बजेट व्यवस्थापन देखि सबै गर्नुपर्छ । दुई संस्करण आयोजनापछि हामीले नयाँ हिसाबमा गर्न हरियो झन्डा पाएका छौं,’ पारस भन्छन्, ‘अरू टिम पनि थप्ने कि नथप्ने विषयहरू छन् । चार विभागीय टोलीमा राम्रा खेलाडी छन् र सात प्रदेशको टोलीमा त्यसपछिका खेलाडीहरू छन् । त्यही भएर यसमा डिभिजन संरचना ल्याउने कि भनेर आन्तरिक हिसाबमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री कपमा शीर्ष चारभित्र नपरेमा खेलाडीहरूले एउटा प्रतियोगिता कम खेल्न पाउने अवस्थासँग क्यान जानकार रहेको पारस बताउँछन् ।

विभागीय टोलीसँग अन्य टोलीलाई तुलनै गर्न मिलेन । जतिसक्दो प्रतिस्पर्धात्मक वातावरण बनायो, त्यति धेरै खेलाडीहरू निखारिँदै आउने हो,’  पारसले अगाडि भने, ‘जय ट्रफी खेल्नैका लागि आफ्नो प्रदेशबाट पनि राम्रो खेल्नुपर्ने स्थिति छ । पर्याप्त बजेट हुने हो भने वर्षैभरि रातो बलमा खेल्ने वातावरण बनाउन सकिन्छ । सातै प्रदेशलाई समेटेर लगी सातै प्रदेशमा गर्न पाए झनै राम्रो हुने थियो । परिवर्तन ल्याउन प्रयास गरिरहेका छौं, त्यसमा हामी आशावादी छौं ।

पारस बहुदिवसीय क्रिकेटले नेपाली क्रिकेटमा रहेको एउटा खाडल पुरिने अपेक्षा गर्छन् ।

मैले आफैं तीनदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरें । दुई सत्रमा झन्डै ६ घण्टा फिल्डिङ गरेर अनि ब्याटिङ गर्दा मेन्टल एप्रोच कस्तो हुन्छ, त्यो तीनदिवसीय क्रिकेटमै परीक्षण हुन्छ । अनि यही हिसाबले ५० ओभरको खेल खेल्दा साढे ३ घण्टा बितेको पनि थाहा नै हुँदैन,’ उनी आफू खेल्दाको अनुभव सुनाउँछन्,

त्योसँगै अझ फिट हुँदै पनि जान्छ र खेलको चेतना पनि वृद्धि हुँदै जान्छ । लामो संरचनाको क्रिकेटमा बल कुरिरहनुपर्छ, अलिकति स्लो पेस हुन्छ तर त्यसले स्टामिना, गेमको अप्रोच, सोच्ने शैली सबै बढाउँछ, जुन अन्त्यमा स्किलमा आएर ठोकिन्छ ।