09/07/2026, 09:25:44
सोमबार, भदौ २२, २०८३

“जेन-जी आन्दोलनको प्रमुख मुद्दा सुशासन हो, सरकार सोही अनुसार अघि बढेको छ”


काठमाडौँ, भदौ २२ गते। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जेन-जी आन्दोलनको प्रमुख मुद्दा ‘सुशासन’ भएको र वर्तमान सरकार त्यसैलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउनुभएको छ। उहाँले देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै राजनीतिलाई जनहितको केन्द्रमा ल्याउन सरकार लागिपरेको प्रष्ट पार्नुभयो।

मन्त्री तिमिल्सिनाले जेन-जी आन्दोलनको स्पिरिट अनुसार नै वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सुरुवाती सय दिनमा सयवटा मुख्य काम गरेर सरकारले सकारात्मक सन्देश दिइसकेको दाबी गर्नुभयो। उहाँले सुशासनको लय समातिरहेकै समयमा भोटेकोशी बाढीले केही चुनौती थपे पनि सरकार दीर्घकालीन नीति र योजना बनाएर देशलाई समृद्धिको दिशामा लैजान प्रतिबद्ध रहेको बताउनुभयो।

राजनीति र राज्यका अंगहरूमा सुधार नआई देश बन्न नसक्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले युवाहरूलाई आशावादी बन्न आग्रह गर्नुभयो।

शक्तिको दुरुपयोग नगरी जनता र राष्ट्रको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले देश निर्माणको यस महा-अभियानमा सम्पूर्ण युवा र आम नेपाली नागरिकको साथ आवश्यक रहेको बताउनुभयो।