10/27/2026, 05:37:18
सोमबार, कार्तिक १०, २०८३

निजी होस्टेलहरूलाई मापदण्ड पालना गर्न एक महिनाको अल्टिमेटम, उल्लंघन गरे कडा कारबाही हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा नियमित तथा आकस्मिक अनुगमन तीव्र, मापदण्ड विपरीत सञ्चालित होस्टेललाई तीन लाखसम्म जरिवाना र सिल।


काठमाडौँ, भदौ ७ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रावास (होस्टेल) हरूलाई सरकारी मापदण्ड पूर्ण रूपमा पालना गर्न एक महिनाको कडा निर्देशन दिएको छ। अनुगमनका क्रममा केही होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर भौतिक पूर्वाधार, लागुऔषध तथा मदिराको प्रयोग र असुरक्षित वातावरण पाइएकाले यो कदम चालिएको हो।

प्रशासनले अनुगमन तीव्र पार्दै मापदण्ड उल्लङ्घन गर्ने केही होस्टेलहरूलाई तीन लाख रुपियाँसम्म जरिवाना गर्नुका साथै सिलसमेत गरिसकेको जनाएको छ। होस्टेलहरूमा अस्वस्थकर खाद्यान्न र सर-सफाइको कमीका साथै अध्ययन कक्ष र पुस्तकालयको अभाव रहेको गुनासो व्यापक रूपमा आएको छ।

अब सबै होस्टेल सञ्चालकहरूले अनिवार्य दर्ता तथा नवीकरण गरी सुरक्षित, मर्यादित र व्यवस्थित वातावरण मिलाउनुपर्नेछ। तोकिएको एक महिनाभित्र सुधार नगरेमा र लागुऔषध/सुर्तीजन्य पदार्थको प्रयोग रोक्न नसकेमा कानुन बमोजिम थप कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।