08/21/2026, 15:26:16
शुक्रबार, भदौ ०५, २०८३

चामे-बेँसीसहर सडक अवरुद्ध: मनाङको ‘लाइफलाइन’ ठप्प हुँदा यात्रुलाई सास्ती


मनाङ, भदौ ५ गते । हिमाली जिल्ला मनाङको मुख्य मेरुदण्डका रूपमा रहेको चामे-बेँसीसहर सडकखण्ड नासोँ गाउँपालिका-३ स्थित खोत्रो पाखामा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र सडक भासिएका कारण मनाङलाई बाह्य जिल्लासँग जोड्ने यो एकमात्र सडक बन्द हुँदा आवतजावत ठप्प भएको छ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार वर्षायाममा पहाडी भूभाग जोखिमयुक्त हुने र बाढीपहिरोको प्रकोप बढ्ने गर्दछ। अवरुद्ध सडक छिटो भन्दा छिटो पुनः सञ्चालनमा ल्याउनका लागि आवश्यक प्राविधिक सामग्री र सुरक्षाकर्मीको टोली घट्नास्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभएको छ।

सडक अवरुद्ध हुँदा मनाङका स्थानीय बासिन्दा तथा यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ। स्थानीयका अनुसार वर्षात्को समयमा लमजुङ र मनाङ दुवैतर्फ पटक-पटक जाने पहिरोका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। साथै, सडकको क्षमताभन्दा बढी भार बोक्ने गाडीहरूको आवतजावतका कारण पनि सडक भासिएको अनुमान स्थानीयले गरेका छन्।