

साउन २८, सेतोप्रेस । अमेरिकी नौसेनाको विमानवाहक पोत ‘युएसएस अब्राहम लिङ्कन’ (USS Abraham Lincoln) मा लामो समयदेखि जारी तैनाथीका क्रममा खाद्यान्न अभाव, पानी तथा प्लम्बिङ समस्या र गम्भीर मानसिक स्वास्थ्य सङ्कट देखिएको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी सिनेटरहरूले रक्षा मन्त्रालयसँग जवाफ मागेका छन् । आधुनिक रेकर्ड अनुसार उक्त विमानवाहक पोत २५० दिनभन्दा बढी समयदेखि बन्दरगाहमा नरोकी समुद्रमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कङ्ग्रेसका डेमोक्रेट सिनेटर रिचर्ड ब्लुमेन्थलले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ र कार्यवाहक नौसेना सचिव हुङ काओलाई पत्र लेख्दै जहाजमा रहेका सैनिकको दयनीय अवस्थाबारे जवाफदेही बनाउन आग्रह गर्नुभएको छ । ब्लुमेन्थलले लामो तैनाथीका क्रममा जहाजमा बिग्रँदो मानसिक स्वास्थ्य र बिग्रिएका शौचालयजस्ता समस्याहरूलाई पत्रमा उल्लेख गर्नुभएको छ ।
यस्तै, अर्का सिनेटर रुबेन गालेगोले सामाजिक सञ्जाल एक्समार्फत युएसएस लिङ्कनमा द्विदलीय सिनेट प्रतिनिधिमण्डलबाट औपचारिक निरीक्षण भ्रमण गराउन आग्रह गर्नुभएको छ । उहाँले जहाजको अवस्था अत्यन्त गम्भीर रहेको भन्दै केही चालक दलका सदस्यले जहाजबाट हामफाल्ने धम्की दिएको रिपोर्टहरू आएको बताउनुभएको छ । गालेगोले मध्यपूर्वको सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकसँग यस्तो व्यवहार हुनु ‘घृणित मात्र नभई खतरनाक’ समेत रहेको टिप्पणी गर्नुभएको छ । उक्त विमानवाहक पोतले नोभेम्बर २१, २०२५ मा दक्षिण चीन सागरमा तैनाथीका लागि क्यालिफोर्नियाको सान डिएगोबाट यात्रा सुरु गरेको थियो। तर, इरानमा सुरु भएको सैन्य कारबाहीका कारण पोतलाई मध्यपूर्वतर्फ फर्काइएको थियो जसले गर्दा यसको तैनाथी अवधि अनपेक्षित रूपमा लम्बिएको हो ।
लामो समयदेखि घर फर्कन नपाएका सैनिकका परिवारले पनि नौसेना नेतृत्वसँग आफ्ना आफन्त कहिले घर फर्कन पाउने भन्नेबारे स्पष्ट जानकारी मागेका थिए । अमेरिकी नौसेनाले भने जहाजमा रहेका सैनिकको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन । विश्वव्यापी रूपमा नै अमेरिकी नौसेनाका विमानवाहक पोतहरूमा लामो तैनाथीले गर्दा सैनिकहरूमा पर्ने मानसिक असरलाई लिएर चिन्ता बढ्दै गएको छ । युएसएस अब्राहम लिङ्कनको यो पछिल्लो घटनाले अमेरिकी सैन्य अभियानका क्रममा सैनिकको कल्याण, सुरक्षा र नौसेनाको परिचालन नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































