07/28/2026, 21:45:00
मङ्गलबार, साउन १२, २०८३

राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द


चितवन, साउन १२ गते । मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलवार साँझ सूचना जारी गर्दै राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत अनिता खिजालीले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय जोखिम बढ्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मुग्लिन बजार नजिकै नारायणगढतर्फ सडकमाथिबाट सुक्खा पहिरो निरन्तर झरिरहेकाले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म रातिको समयमा सवारी सञ्चालन रोकिएको हो।

प्रशासनले सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। साथै सडकको अवस्था हेरेर थप निर्णय गरिने जनाएको छ। सवारी आवागमन बन्दबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सूचना तथा समन्वयका लागि सम्बन्धित सुरक्षा निकाय र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।