

काठमाडौँ, असार ४ गते । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आन्तरिक एकता कायम राख्न पार्टीको संस्थापन पक्षलाई पाँचबुँदे प्रस्ताव पठाएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्व समूहको आइतबार सम्पन्न बैठकले पार्टी एकताका लागि संस्थापन पक्षलाई उक्त प्रस्ताव पठाएको हो ।
कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार प्रस्तावमा चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भनिएको छ । उहाँले सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने र पुनर्गठित केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने प्रस्ताव गरिएको बताउनुभयो ।
उहाँले वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकाले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई १५ औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने प्रस्ताव गरिएको छ ।”
नेता विश्वकर्माले उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पूर्वकार्यवाहक सभापति खड्कालाई पठाएका प्रस्तावमाथि औपचारिक छलफल गरेर अधिकतम सहमति गर्न सकिने प्रस्तावसहित जवाफ दिएको जानकारी दिनुभयो । २०८२ पुसमा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति चयन भएपछि पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै भेला र कार्यक्रम सञ्चालन गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























