06/14/2026, 15:13:26
आइतबार, जेठ ३१, २०८३

नेपालले भारतको सीमा कहीँ पनि मिचेको छैन : उपेन्द्र यादव


पर्सा, जेठ ३१ गते । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको सीमा कहीँ पनि नमिचेको बताएका छन् । रिपोर्टर्स क्लब पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राख्दै नेपालले कुनै पनि स्थानमा भारतको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।

मैले दुई पटक परराष्ट्र मन्त्रालय सम्हाल्ने अवसर पाएको थिएँ। त्यतिबेला भारतका परराष्ट्रमन्त्री प्रणव मुखर्जी हुनुहुन्थ्यो,’ यादवले भने, ‘सीमा विवादका विषयमा न त भारत सरकार न त भारतीय परराष्ट्र मन्त्रालयले नेपालले भारतीय भूमि मिचेको कुनै औपचारिक दाबी गरेको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतीय जग्गा मिचेको भनी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति पनि यादवले असहमति जनाए । ‘नेपालले भारतको मात्र होइन, कसैको पनि सीमा मिचेको छैन,’ उनले भने ।

यादवले भारतले हालसम्म नेपालमाथि सीमा अतिक्रमणको औपचारिक आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीले त्यस्तो दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गरे । ‘भारतलाई पनि थाहा नभएको र हामीलाई पनि जानकारी नभएको कुरा प्रधानमन्त्रीलाई कसरी थाहा भयो ?‘ भन्दै उनले व्यंग्य गरे । यदि त्यस्तो दाबी गरिएको हो भने त्यसलाई पुष्टि गर्न ऐतिहासिक दस्तावेज, नक्सा तथा प्रमाण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा यादवले पछिल्लो निर्वाचनबाट जनताले जसपा नेपाललाई पाँच वर्ष सडकमा बसेर संघर्ष गर्ने भूमिका र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारी दिएको बताए । जनताले दिएको म्यान्डेट अनुसार काम गरेर देखाउन रास्वपालाई उनले सुझाव दिए । ‘वर्तमान सरकारसँग जनताको धेरै अपेक्षा छ,’ उनले भने, ‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ ।‘ मधेशी समुदायका व्यक्तित्व प्रधानमन्त्री बन्ने सम्भावनाले मधेशका मतदाताले व्यापक समर्थन गरेको दाबी गर्दै उनले त्यस समर्थनलाई जनहितका काममार्फत सम्बोधन गर्नुपर्ने बताए ।

यादवले मुलुकको दीर्घकालीन राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको धारणा पनि राखे । वर्तमान संविधानमा रहेका त्रुटि सच्याएर देशको आवश्यकताअनुरूपको शासन प्रणाली र संवैधानिक संरचना निर्माण नगरेसम्म मुलुक अपेक्षित रूपमा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

– शंकर आचार्य