06/14/2026, 15:01:18
आइतबार, जेठ ३१, २०८३

‘स्प्रिङबेस डट एआई’ अपरेटिङ सिस्टम नेपालमा सार्वजनिक


काठमाडौँ, जेठ ३१ गते । च्याटजीपीटी, जेमिनाइ, क्लड, डिपसिक जस्ता विश्वका अग्रणी एआई मोडलका सुविधालाई एउटै प्लाटफर्ममा एकीकृत गरी तयार पारिएको ‘स्प्रिङबेस डट एआई’ अपरेटिङ सिस्टम नेपालमा सार्वजनिक गरिएको छ ।

अमेरिकाको डेलावेयरमा मुख्यालय रहेको इनोभेन्चर्स एआई इंकले ओपेन सोर्स मोडलहरू एकीकृत गरी यो टुल विकास गरेको हो । यसले कुन चरणमा कुन एआई मोडेल प्रयोग गर्ने भन्ने निर्णय आफैँ लिने कम्पनीको दाबी छ ।

स्प्रिङबेस एआई प्रणालीले नेपाली व्यावसायिक क्षेत्र र प्रयोगकर्तालाई विभिन्न एआई टुलका लागि छुट्टाछुट्टै सबस्क्रिप्सन लिनुपर्ने बाध्यता अन्त्य गर्दै एउटै ‘कन्सोल’ बाट सबै सेवा उपलब्ध गराउने लक्ष्य राखेको संस्थापकद्वय भरत गोल्छा र आकाश जाटियाले बताए । यसले एआई अपरेटिङ सिस्टम (ओएस)का रूपमा काम गर्ने उनीहरूको भनाइ छ । परम्परागत अपरेटिङ सिस्टमले हार्डवेयर र सफ्टवेयर व्यवस्थापन गर्छन् भने एआई ओएसले एआई मोडल र वर्कफ्लो व्यवस्थापन गर्छ । ‘यसले साधारण च्याटबटले जस्तो प्रश्नको उत्तर मात्र दिँदैन, प्रयोगकर्ताले हासिल गर्न चाहेको लक्ष्य अनुसार स्वचालित रूपमा कार्य-सम्पादन गर्छ,’ भरतले भने ।

स्प्रिङबेसले कम्पनीका आन्तरिक सूचना, पीडीएफ, मिटिङका ट्रान्सक्रिप्ट र अन्य डेटा प्रयोग गरी प्रतिवेदन, प्रोजेक्ट ब्रिफ, प्रपोजल र कार्यसूची तयार पार्न मद्दत गर्ने आकाशले बताए । ‘यसले च्याट प्लाटफर्म, एजेन्टिक प्लाटफर्म र ट्रान्सक्रिप्सन टुल सबैलाई एउटै ठाउँमा ल्याउँछ र चलाउन निकै सजिलो छ,’ उनले भने, ‘बजारमा भएका धेरैवटा एआई टुलहरूका कारण ती टुलहरूले कम्पनीपिच्छेको सन्दर्भ बुझ्न र एकीकृत रूपमा काम गर्न सक्दैनन् । स्प्रिङबेसमा धेरै प्लाटफर्महरूको कन्सोलिडेसन भएकाले सबै टुलको काम यसबाट गर्न मिल्छ ।

यसको मुख्य विशेषता ‘आउटपुट एक्सेलरेसन’ भएको उनीहरूले बताए । यसमा प्रयोगकर्ताले आफ्नो लक्ष्यबारे जानकारी दिएपछि प्रणालीले त्यसलाई कार्यान्वयन गर्ने योजना बनाउँछ । यसले प्रयोगकर्ता कम्पनीका कागजात र व्यावसायिक सन्दर्भलाई आधार मानेर योजनाहरू तयार गर्ने कम्पनीले जनाएको छ । यसको ‘प्लान मोड’ ले कुनै पनि कामलाई चरणबद्ध रूपमा पुरा गर्छ । ‘वेबसाइटहरू अध्ययन गरेर यसले विस्तृत प्रतिवेदन तयार पार्न सक्छ,’ भरतले भने, ‘प्रतिवेदन तयार भएपछि यसले प्रेजेन्टेसन बनाइदिन्छ । यसले फाइलहरू सरोकारवालालाई इमेलसमेत गरिदिन्छ ।’ यी सबै काम १० मिनेटभन्दा कम समयमा सम्पन्न हुने उनले दाबी गरे ।

यसको मासिक शुल्क करसहित १ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । प्रयोगकर्ताले इसेवा वा खल्तीजस्ता स्थानीय माध्यमबाट भुक्तानी गर्न सक्छन् ।

स्प्रिङबेसका संस्थापकहरूका अनुसार हाल ४० भन्दा धेरै देशमा यसको प्रयोग शुरु भइसकेको छ । आगामी केही महिनामा १९१ देशमा पुग्ने उनीहरूको लक्ष्य छ । विशेष गरी साना र मध्यम उद्योगहरूका लागि यो बढी प्रभावकारी हुन सक्ने उनीहरूको ठहर छ । यसले कम्पनीका छरिएका डेटालाई एक ठाउँमा ल्याउन र कर्मचारीहरूलाई धेरै एआई टुल सिक्नु पर्ने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।