06/11/2026, 20:18:52
बिहिबार, जेठ २८, २०८३

बजेट प्रक्रियालाई निकास दिन श्रम संस्कृति पार्टी लचक


काठमाडौँ, जेठ २८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्ना मागहरू यथावत् रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताउनुभएको छ।

प्रतिपक्षमा रहेका दलहरूबिच भएको छलफलपछि बजेटलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्ष निकालिएको उहाँले जानकारी दिनुभयो। विगत १० दिनदेखि जारी राजनीतिक गतिरोधका सन्दर्भमा बोल्दै अध्यक्ष राईले सम्बन्धित पक्षले सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने अडान दोहोर्‍याउनुभयो।

उहाँले प्रतिपक्षी दलहरूबिचको कार्यगत एकतामा जोड दिँदै आफूहरू एक्लै नभई अन्य दलहरूसँगको समन्वयमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो। माग पूरा नभएसम्म सदनमा विरोध प्रदर्शन जारी रहने भए पनि विकास र बजेटको प्रक्रियालाई निकास दिन पार्टीले लचकता अपनाउने उहाँको भनाइ छ।

अध्यक्ष राईले भन्नुभयो, “हाम्रा मागहरूमा हामी दृढ छौँ र सदनभित्र विरोधका कार्यक्रमहरू जारी रहनेछन्। तथापि, बजेटजस्तो महत्त्वपूर्ण विषयलाई महिना दिनसम्म रसाकसीको अवस्थामा राखिरहनु उपयुक्त नहुने साझा निष्कर्षमा हामी पुगेका छौँ।

विगत केही समयदेखि श्रम संस्कृति पार्टी र अन्य विपक्षी दलहरूले विभिन्न माग राख्दै आएका कारण बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया प्रभावित हुँदै आएको थियो।