काठमाडौँ, जेठ ३१ गते । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आउँदो साउन २६ देखि ३१ सम्म काठमाडौं भृकटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । एक्स्पोका लागि अहिले स्टल बाँडफाँट भइसकेको नाइमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँट भइसकेको र जसमा २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुईपांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको नाइमाले जनाएको छ ।
स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन । एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उनको भनाइ छ ।


प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै अध्यक्ष वैद्यले निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको बताइन् । ‘उपलब्ध स्थान तथा सम्भावनाको मूल्यांकन गरी विशेषगरी नाइमा सदस्य कम्पनीलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने छ,’ उनले भनिन, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँट सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको छ ।’
उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने उनले बताइन् ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँट प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए । ‘नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहेको एक्स्पोको तयारी सहभागी सवारी साधन ब्रान्डहरू, साझेदार संस्था तथा अन्य सरोकारवालासागको सहकार्यमा व्यवस्थित तथा उच्च मापदण्डअनुरूप अघि बढिरहेको छ,’ उनले भने ।


नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिने बताइएको छ । एक्स्पोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन् ।
यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्नेछ । नाइमा नेपालका मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































