

काठमाडौँ, जेठ ३१ गते । सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम-जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ । नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि तीन हजारभन्दा बढीले दरखास्त दिएका छन् ।
यो सङ्ख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौँ गुणा बढी आवेदन हो । ठुलो सङ्ख्यामा आवेदन परेपछि अब छनोट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ । राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ । जस अनुसार यही जेठ १४ गते आह्वान गरिएको खुला आवेदनको अन्तिम मिति जेठ २२ गतेसम्म थियो ।
आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची (सर्टलिस्ट) तयार गरिने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो । उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनोट गरिने बताउनुभयो । प्राप्त आवेदन तथा सिफारिसबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्ने छ । त्यस सूचीमा परेका उम्मेदवारलाई मात्र बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वानकै क्रममा खुलाइएको छ ।
खुला आवेदन दिएकै भरमा परीक्षै लिए जसरी अङ्कभारका आधारमा भन्दा पनि आवेदकको योग्यता, अनुभव तथा दक्षतालाई छनोटको बढी आधार बनाइने भएको छ । छनोट निष्पक्ष बनाउन मन्त्रालय सचेत रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार निर्देशिकाले तय गरेका मापदण्ड कार्यान्वयनमा पनि ध्यान दिइने भएको छ । एउटै व्यक्तिले धेरै वटा देशको राजदूतका लागि आवेदन दिएको पनि पाइएको छ ।
सरकारले फिर्ता बोलाएका १८ मध्ये १६ मुलुकका लागि राजदूत चयन गर्ने बाटो खुलेको छ । पहिल्यै खाली रहेको ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास सरकारले बजेट भाषणका क्रममा खारेज गर्ने घोषणा गरेको छ । त्यस्तै चीनको छेन्दु, अमेरिकाको सानफ्रान्सिस्को र भारतको विशाखापट्टनमस्थित महावाणिज्य दूतावास पनि सरकारले खारेज गर्ने घोषणा गरेको छ ।
अहिले छिमेकी भारत र चीनसँगै मित्रराष्ट्र अमेरिका, बेलायत, अस्ट्रेलिया, कतार, साउदी अरेबिया, जापान, इजरायल, मलेसिया, श्रीलङ्का, रसिया, दक्षिण कोरिया, जर्मनी र स्पेनका लागि खुला प्रतिस्पर्धाबाट राजदूत चयन हुने छन् । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ (दोस्रो संशोधित, २०७८) मा कुल नियुक्तिको ५० प्रतिशत नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका बहालवाला अधिकृतमध्येबाट राजदूत बनाउनुपर्ने व्यवस्था छ । बाँकी बाहिर रहेका कूटनीतिक क्षेत्रका विज्ञ तथा जानकारबाट राजदूत पदपूर्ति गरिने व्यवस्था छ ।
नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन भनिएको थियो । उम्मेदवारले स्वयम् र अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो ।
– चाँदनी हमाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















