काठमाडौँ, जेठ ३१ गते । यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम कम गर्नका लागि कामपाले मनसुनपूर्व तयारी र प्रतिकार्य योजनासमेत स्वीकृत गरेको छ ।
कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ ।
नेपालले भन्नुभयो, “वडा १४ सँगै वडा नं १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुबान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं ४ र वडा नं ३२ मा १०-१० ठाउँमा डुबानको जोखिम देखिन्छन् ।” उहाँका अनुसार वडा नंं १६ सबैभन्दा बढी प्रभावित हुने देखिन्छ ।
सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुने अनुमान गरिएको विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं २६ मा एक हजार २५५, वडा नं ३ मा ९५० र वडा नं ४ मा ९५५ परिवार प्रभावित हुनेछन् ।
उक्त अनुमानका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवालगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बर तयारी अवस्थामा राखिएका कामपा विपद् व्यवस्थापन विभागले जनाएको छ । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ ।
जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि कामपाका ११ वटा विभागलाई जिम्मेवारी कार्ययोजना तोकिएका विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् ।
यसअघिका वर्षहरूको अविरल वर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर कामपाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुबान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
कामपाकी कार्यवाहक प्रमुख एवं कामपा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले यसवर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधारमा कार्ययोजना स्वीकृत गरेको हो ।
उहाँले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइलगायत तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपद्का समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























