तपाईंलाई के लाग्छ बोटबिरुवाले पनि अन्य मांसाहारी जीवले जस्तै मासु खान सक्छन् ?
हाम्रो पृथ्वी जैविक विविधताले भरिपूर्ण छ । यहाँ पाइने धेरै जसो बोटबिरुवा स्वपोषित हुन्छन् । तिनले आफ्नो खाना आफैँ बनाउन सक्छन् तर केही बोटबिरुवा परपोषित पनि हुन्छन् । यी बोटबिरुवा प्रायः नाइट्रोजन र आवश्यक खनिज तत्वको कमी भएका ठाउँ जस्तै सिमसार वा दलदल क्षेत्रमा पाइन्छन् । यी बोटबिरुवाले पनि अन्य बोटबिरुवाले जस्तै सूर्यबाट शक्ति प्राप्त गर्छन् तर प्रोटिन र नाइट्रोजन बनाउनका लागि अन्य जीवमा भर पर्छन् । यस्ता बोटबिरुवालाई मांसाहारी बोटबिरुवा भनिन्छ । किराको शरीरबाट प्राप्त हुने नाइट्रोजनले यी बोटबिरुवालाई स्वस्थ रहन र बिउ उत्पादन गर्न मद्दत पुग्छ ।
विश्वमा करिब आठ सय प्रजातिका मांसाहारी बोटबिरुवा पाइन्छन् । यीमध्ये करिब एक चौथाई मांसाहारी बोटबिरुवा मानवीय कारणले गर्दा लोपोन्मुख छन् । नेपालमा पनि केही मांसाहारी बोटबिरुवा पाइन्छन् । ती हुन् ब्ल्याडरवर्ट (उट्रिकुलारिया) र सन्ड्यु (सूर्य शीत) । विश्वमा पाइने चर्चित मांसाहारी बोटबिरुवा भेनस फ्लाइट्रयाप, पिचर प्लान्ट, सन्ड्यु, ब्ल्याडरवर्ट, कोब्रा लिली, बटरवर्ट, वाटरह्विल प्लान्ट आदि हुन् ।


१) भेनस फ्लाइट्रयाप : यसको पात दुई वटा पखेटा जस्तो (महिलाले कपालमा लगाउने क्लिप जस्तो) हुन्छ । अन्य समयमा यो खुलेर, फैलिएर रहन्छ र जब कुनै साना जीव वा किरा यसको भित्री सतहमा बस्छ यो तुरुन्तै बन्द हुन्छ र किरा त्यहीँ थुनिन्छ ।
२) सन्ड्यु : यो मांसाहारी बोटको पातमा शीतका थोपा जस्तो देखिने टाँसिने पदार्थ हुन्छ । जब साना जीव त्यसमा टाँसिन्छन् तब यसको पात विस्तारै खुम्चिन्छ र किरा वा साना जीवलाई कैद गर्दछ ।
३) पिचर प्लान्ट : यो मांसाहारी बोट घैँटो आकारको हुन्छ । यसको भित्र चिप्लो पदार्थ र पचाउने रस पाइन्छ । किरा यसमा बस्दा चिप्लिएर भित्र खस्छ र बाहिर आउन सक्दैन । बोटको पाचन रसको कारणले किरा मर्छ । पाचन रसले किरा वा अन्य साना खसेका जीवको शरीरलाई विस्तारै गलाउँछ र बोटले आवश्यक पोषण तत्व सोसेर लिन्छ ।


मांसाहारी बोटबिरुवाका विशेषता यस प्रकार छन् : यिनीहरू पोषण तत्वको कमी भएको ठाउँमा उम्रिन्छन् र हुर्किन्छन् । यिनले मिठो सुगन्ध निकाल्छन् र हेर्दा पनि अति आकर्षक हुन्छन् । जसले गर्दा किरा आफैँ यसको सम्पर्कमा आउँछन् । यिनमा आफ्नो सिकार वा आहारा समाउनका लागि परिवर्तन भएका पात हुन्छन् । यी बोटबिरुवामा लज्जावती झार जस्तै छिटो प्रतिक्रिया दिने क्षमता हुन्छ । यिनले पाचन रस निकाल्छन् । जसले ससाना जीवलाई गलाउने काम गर्दछ । यो काम हुन केही दिन वा हप्ता लाग्छ ।
मांसाहारी बोटबिरुवा जैविक विविधताका अनुपम र अमूल्य उदाहरण हुन् । यिनले हाम्रो वरपरको पर्यावरण सन्तुलन राख्न र साना जीव तथा किराको सङ्ख्या नियन्त्रण गर्न सहयोग गरिरहन्छन् । त्यसैले यी बोटबिरुवाले प्राकृतिक किटनाशक र किरा नियन्त्रकका रूपमा काम गर्छन् ।


यिनले प्रतिकूल वातावरणमा कसरी परिवर्तन र अनुकूलन भएर बाँच्ने भन्ने ज्ञान दिन्छन् । यिनले पारिस्थितिक प्रणालीको अवस्था बताउँछन् । स्वस्थ वातावरण भएको ठाउँमा मात्र पाइने भएकाले यी बोटबिरुवा वैज्ञानिक अनुसन्धानमा धेरै सहयोगी हुन्छन् ।
– रामचन्द्र वाग्ले
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















