06/13/2026, 15:22:51
शनिबार, जेठ ३०, २०८३

‘इरान र अमेरिकाबीच शान्ति सम्झौतामा अन्तिम हस्ताक्षर मात्रै बाँकी’


इस्लामावाद, जेठ ३० गते । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसकेको बताएका छन् । सम्झौतामा अन्तिम हस्ताक्षर हुनमात्रै बाँकी रहेको उनले बताए ।

यसअघि बिहीबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै साताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दाबी गरेका थिए ।

हामीले इरानसँगको युद्धमा एउटा राम्रो सहमति गरेका छौं,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका थिए, ‘हस्ताक्षर गर्नासाथ हर्मुजको जलमार्ग खुल्नेछ । यो निकै चाडों हुनेछ । यसै साताहन्तमा युरोपमा सम्झौता हुनसक्छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा सहबाजले दुबै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको बताए । ‘शान्ति अहिलेजस्तो नजिक कहिल्यै थिएन,’ उनले भने ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि शान्ति सम्झौतानिकट रहेको बताएका छन् । दुई चरणमा शान्ति सम्झौता हुने उनले बताएका छन् । पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उनले बताए ।

पहिलो चरणमा लेबनानमा इजरायलको आक्रमणसहित सबै मोर्चामा युद्ध रोकिनेछ । फेरि आक्रमण नगर्ने प्रतिबद्धता हुनेछ,’ उनले भने । इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा दोस्रो चरणमा छलफल हुने उनले दाबी गरे । उनले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताए ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताले पश्‍चिम एसियामा दिर्घकालीन शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका छन् ।

इरानीहरुले कुनै पैसा पाउने छैनन् । सम्झौता वा बैठक गर्दैमा रोक्का रकम फुकुवा हुनेछैन । अमेरिका र उसका सहयोगीहरुको हितलाई प्राथमिकतामा राखेर यो सम्झौता तयार गरिएको छ । यदी, इरानले सम्झौता पालना गरेमा उसलाई र सम्पूर्ण क्षेत्रलाई आर्थिक फाइदा हुनेछ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो सम्झौताले पश्चिम एसिया क्षेत्रलाई फेरि बनाउने र दिर्घकालीन शान्ति स्थापना गर्ने संभावना छ ।