06/15/2026, 14:49:01
सोमबार, असार ०१, २०८३

यातायात कार्यालयहरूमा काम छिटो हुँदा सेवाग्राही खुसी

सवारी पनि सवारी चालक अनुमतिपत्र बढीमा २० मिनेटमै प्रदान गर्ने गरेको छ । लाइन बस्नै नपर्ने र पटक पटक झ्याल झ्यालमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । नियमित सेवालाई प्रभावकारी बनाएको एकान्तकुनाले लाइसेन्स वितरण वडा वडाबाट गर्ने भएको छ । कार्यालयमा भिड हुनुका साथै सेवाग्राहीलाई असुविधा हुने भएकाले वडाबाटै वितरण गरिने जनाएको छ ।


काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाह चुस्त हुँदा सेवाग्राहीमा खुसी छाएको छ । तीन वर्षअघि परीक्षा पास गर्नुभएका भक्तपुरका सुविन महर्जनले शुक्रबार यातायात व्यवस्था कार्यालय राधेराधेबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएपछि कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, “अहिले त सुधार भएर पाँच मिनेटमै काम बन्यो । ढिलासुस्ती हटेछ । खुसी लाग्यो ।

तीन/चार वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुसी भएका छन् । अर्की सेवाग्राही सिर्जना थापाले भन्नुभयो, “मैले लाइसेन्स नपाएको तीन वर्ष हुन लाग्यो । अहिले धमाधम लाइसेन्स दिइएको छ । आखिर गरे हुँदो रहेछ त । मैले पनि लिएँ । विगतमा किन गरेनन् ? अहिले त राम्रो काम भइरहेको छ ।

महर्जन र थापाले भने जस्तै पछिल्लो समय उपत्यकाका यातायात कार्यालयका सेवा प्रवाहमा सुधार देखिएको छ । कार्यालयहरूले कर्मचारी थपेर, बिदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली सुरु गरेर भए पनि सेवाग्राहीलाई सास्तीमुक्त बनाएका छन् । अहिले लामो समय लाइन बस्न र कागजातको फोटोकपी बोकिरहनु पर्दैन । सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ ।

यातायात व्यवस्था कार्यालय चावहिलले शनिबार र बिदाको दिन पनि सेवाप्रवाह गरिरहेको छ । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय खोलिएको छ । यस कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शनिबार र आइतबार पनि लिन सकिन्छ । चावहिल कार्यालयले सेवा प्रवाहलाई छिटोछरितो बनाउन शनिबार र आइतबार मात्र होइन, बिदा नभएको दिनमा पनि साँझ ६ बजेसम्म सेवा दिइरहेको छ । नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चावहिल कार्यालयले आधा घण्टामा सेवाग्राहीको काम सम्पन्न गर्ने गरेको छ ।

कार्यालय प्रमुख पेशलकुमार पोख्रेलले भन्नुभयो, “चावहिल कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो । हाम्रो सेवालाई प्रभावकारी र छिटोछरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि ३० मिनेटमा काम सक्छौँ । लाइसेन्स लिन आउनेको चाप बढेपछि बिहान ७ बजेदेखि नै वितरण गरेका छौँ । शनिबार र आइतबार पनि ९ बजेदेखि ३ बजेसम्म वितरण हुन्छ ।

शनिबार र आइतबार पनि सेवा दिँदा विभिन्न कार्यालयमा जागिर गर्ने सेवाग्राही बढी लाभान्वित हुने गरेको उहाँको भनाइ छ । प्रमुख पोख्रेलका अनुसार केही समय कर्मचारीलाई अनुरोध गरेर बिदाको दिन र बिहानैदेखि सेवा दिइएको हो । सेवाग्राहीलाई सहज र सुविधाका लागि कार्यालयलाई कागजरहित (पेपरलेस) बनाइएको छ । प्रवेशद्वारबाटै सिसिटिभीको निगरानीमा सेवा प्रवाह भएको छ ।

लाइसेन्सको वर्ग थप गर्न आउनुभएका दिनेश भुजेलले भन्नुभयो, “पहिला जस्तो रहेनछ । फोटोकपी कागजहरू नचाहिने रहेछ । काम छिटो हुँदो रहेछ । पहिला जस्तो बिचौलियाको बिगबिगी पनि देखिएन । कर्मचारीले चासो दिएर सेवा गरेको देख्दा खुसी लाग्यो । खासै लाइन पनि हुँदो रहेनछ ।

चावहिल कार्यालयमा एक लाख ८४ हजार लाइसेन्स वितरणका लागि आएका छन् । जसमा करिब ४० हजार प्रति वितरण भएको छ । हाल लाइसेन्स लिनेहरूको लाम देख्न सकिन्छ । तर अन्य सेवाका लागि आएको सेवाग्राही भने लाम बस्नु पर्दैन । अनलाइन फाराम भरेर राजस्व तिरेको भोलिपल्ट लिखित परीक्षा लिने गरिएको छ ।

प्रमुख पोख्रेलले भन्नुभयो, “म आफैँ काउन्टरमा गएर गुनासो सुन्ने गर्छु । चाप भएको ठाउँमा काउन्टर थपेर सेवा दिइएको छ । सिसिटिभीको निगरानी र अनुगमनलाई कडाइ गरेको छु । हामीसँग ४३ जनाको दरबन्दी पूर्ण छ ।” यातायात कार्यालय चावहिलमा दैनिक एक हजार चार सयभन्दा बढी सेवाग्राही आउने गर्छन् । कार्यालयले वैशाख ३० गतेबाट बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म लाइसेन्स लिन आउनेलाई सेवा दिइरहेको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी पनि सवारी चालक अनुमतिपत्र बढीमा २० मिनेटमै प्रदान गर्ने गरेको छ । लाइन बस्नै नपर्ने र पटक पटक झ्याल झ्यालमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । नियमित सेवालाई प्रभावकारी बनाएको एकान्तकुनाले लाइसेन्स वितरण वडा वडाबाट गर्ने भएको छ । कार्यालयमा भिड हुनुका साथै सेवाग्राहीलाई असुविधा हुने भएकाले वडाबाटै वितरण गरिने जनाएको छ ।

यातायात कार्यालय एकान्तकुनाका प्रमुख केशवकुमार जिएमले भन्नुभयो, “नियमित काम छिटोछरितो भएकै छ । अहिले प्रिन्ट भएका लाइसेन्स वितरणका लागि आएका छन् । कार्यालयबाट मात्रै वितरण गर्दा भिडभाड बढ्छ र सेवाग्राहीलाई असुविधा हुन्छ । त्यसैले वडा कार्यालयमा हाम्रा कर्मचारी पठाएर वितरण गर्दैछौँ ।

एकान्तकुना कार्यालयमा दिनको ४० हजार लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागले पठाएको छ । कार्यालयका कर्मचारीले प्राप्त लाइसेन्सलाई क्रम मिलाउने काम गरिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रले हाल एकान्तकुना कार्यालयका लाइसेन्स अङ्ग्रेजी वर्णानुक्रम अनुसार छापिरहेको छ ।

कार्यालयले लाइसेन्स लिन आउनुभन्दा पहिला एकान्तकुना कार्यालयको वेबसाइडमा गएर प्रिन्टएकान्तकुना डट बागमती डट जिओभी डट एनपी लगइन गरी लाइसेन्स आयो कि आएन भनेर निश्चित गर्न अनुरोध गरेको छ । प्रमुख जिएमले
भन्नुभयो, “यहाँ आउनुअघि एक पटक वेबसाइट भिजिट गर्नुहोस् । त्यहाँ तपाईंको लाइसेन्स नम्बर हानेर आए नआएको निश्चित गर्नुहोस् । त्यसरी हेर्दा तपाईंको लाइसेन्स कति नम्बर झ्यालमा छ भन्ने कुराको पनि जानकारी हुन्छ ।

वेबसाइटबाटै जानकारी लिएर आएपछि लाइन बस्न नपर्ने र छिटो काम सम्पन्न हुने कार्यालयले जनाएको छ । एकान्तकुना कार्यालयमा अहिले वर्णानुक्रम ‘डी’ सम्मको लाइसेन्स आएको छ । कार्यालयमा पाँच लाख लाइसेन्स छापिएर आउँदै छ ।

यातायात कार्यालय राधेराधेले दैनिक दुई हजार लाइसेन्स वितरण गरिरहेको छ । शुक्रबारसम्म दुई लाख ५० हजार लाइसेन्स वितरणका लागि आइसकेको छ । यातायात कार्यालयमा पहिला जस्तो होहल्ला हँुदैन, शान्तिपूर्वक काम भइरहेको देखिन्छ । बिचौलिया नहुँदा कार्यालयमा शान्त वातावरण हुने गरेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सिस्टममा काम भएपछि बिचौलियाहरू आफैँ हट्दा रहेछन् । अहिले बिचौलियाको कुनै भूमिका नै छैन ।”

– लक्ष्मण दर्नाल