विराटनगर, जेठ २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल परिसरका १० संरचनाको ठेक्का लगाएको छ । प्राधिकरणले वार्षिक तीन करोड ३६ लाख ४६ हजार २११ रुपियाँ यहाँबाट आम्दानी गर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार संरचनाको ठेक्का अङ्क कायम गरिँदै आएको छ । सार्वजनिक सूचना जारी गरेर ठेक्का व्यवस्थापन र सम्झौता हुँदा कबोल गर्नेले लिलाम बढाबढ गर्छन् । यस्तो हुँदा नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सेवाशुल्क अङ्कभन्दा दोब्बर÷तेब्बर बढीमा कबुल गर्छन् । विमानस्थलमा आउजाउ गर्ने सेवाग्राहीलक्षित सञ्चालकले भने वस्तु तथा सेवाको मूल्यमा मनपरी वृद्धि गरेर ठेक्का रकम असुल्ने माध्यम बनाउँछन् । सधैँ भिडभाड हुने विमानस्थलमा आफैँ लिलाम बढाबढ गरेर लिएको ठेक्कामा भने उपभोक्ताको ढाड नराम्रोसँग सेकिँदै आएको खुलेको हो ।
विराटनगर विमानस्थलले पाँच वर्षका लागि २०७९ र २०८० सालमा ठेक्का पट्टा व्यवस्थापन गरेको थियो, जसको अवधि २०८५ सम्म छ । त्यसपछि २०८२ सालमा अन्य केही संरचनाको ठेक्का व्यवस्थापन गरेको थियो ।
तीन वर्षअघि अनुकूल होटेल एन्ड भान्साघर विराटनगर–४ ले विमानस्थलको भिजिटर कक्ष दुई करोड ३७ लाख २५ हजारमा ठेक्का कबोल गरेको थियो । पाँच वर्षका लागि विमानस्थलले भने ८५ लाख ७५ हजार रुपियाँ ठेक्का अङ्क राखेको थियो ।


यसै गरी ठेक्का अङ्क ३३ लाख राखिएको स्टेराइल हललाई ममता होटेल विराटनगर–४ ले कन्फेन्सनरी पसलका लागि एक करोड १५ लाखमा सम्झौता गरेको थियो । त्यसै गरी ममता होटेलले नै ठेक्का रकम अङ्क ९६ लाख ८६ हजार २३१ तोकिएको सवारी विसान क्षेत्रलाई एक करोड ६५ लाख र नोबेल गेट उत्तरको व्यापारिक भवन तीन करोड ५१ हजार १५ हजार तोकिएकोमा तीन करोड ५१ हजार २५ हजार रुपियाँमा कबोल गरेको थियो ।
यसै गरी न्यु ग्यालेक्सी एन्ड लज विराटनगर–४ ले एक करोड ७० लाख ठेक्का अङ्क तोकिएको चेक इन काउन्टर हललाई पाँच वर्षका लागि दुई करोड ३१ लाख रुपियाँ कबोल गरेको थियो । यो ग्यालेक्सीले लिएको ठेक्का दीपेन्द्र बाराकोटीमार्फत रेडमग क्याफेले भाडामा लिएर सञ्चालन गर्दै आएको छ । सम्झौता गर्ने दोस्रो पक्षबाट तेस्रो पक्षमा गएपछि यसको भाडा अझै महँगिएको छ ।
ठेक्का अङ्कभन्दा बढी कबुल गरेका यी होटेल तथा क्याफेले राज्यलाई राजस्वमा योगदान दिए पनि उपभोक्ताको गोजी भने रित्याउने गरेको गुनासो बढ्दो छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा विमानस्थलका यिनै होटेल तथा क्याफे, कन्फेक्सनरी सञ्चालन गर्नेले अत्यधिक मूल्य असुलेको गुनासोपछि अनुगमन गरिएको थियो । यात्राका लागि विमानस्थल आइपुगेका यात्रीले कुनै पनि सेवा लिँदा अत्यधिक रकम असुल्ने गरेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइलालाले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक गरिएको जाँचमा चार वटा होटेल तथा क्याफेमा अत्यधिक मूल्य लिएको प्रमाणका आधारमा तीन लाख रुपियाँका दरले जरिबाना गरिएको हो ।


विमानस्थलभित्र तीन वटा स्थानको ठेक्का लिएको विराटनगर–४ स्थित ममता होटेल, विराटनगर–४ कै होटेल न्यु ग्यालेक्सी एन्ड लज (रेडमग क्याफे), गरिमा होटेल प्रा.लि इटहरी–२ को गरिमा क्याफे र विराटनगर–४ को अनुकूल होटेल एन्ड भान्साघरलाई तीन÷तीन लाख रुपियाँ जरिबाना गरिएको हो ।
स्थानीय प्रशासनले सङ्कलन गरेको प्रमाणमा ममता होटेलले एक सय रुपियाँ पर्ने डेरी मिल्क चकलेटलाई दुई सय रुपियाँ, ग्यालेक्सी (रेडमग क्याफे) ले ५० रुपियाँ पर्ने कोकाकोलाको १६० रुपियाँ, गरिमाले ५० रुपियाँ पर्ने कोकाकोलाको ८० रुपियाँ र अनुकूल होटेलले आठ रुपियाँ पर्ने चकलेटलाई १७ रुपियाँ ६९ पैसाको बिल काटेका थिए । यही बिलका आधारमा उनीहरूमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिबाना भराइएको कोइरालाले जानकारी दिनुभयो ।
विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीले नियमावली अनुसार ठेक्का व्यवस्थापन गरिएपछि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु बिक्री गर्न नपाउने कुरा सम्झौता यसअघि उल्लेख हुने गरेको थिएन । पछिल्लो ठेक्का व्यवस्थापन, २०८२ असोजमा होटेल गरिमा प्रा.लि इटहरीसँग सम्झौता गर्दा अधिकतम खुद्रा मूल्यलाई ध्यानमा राख्नुपर्ने सेवासर्त तोकिएको दाबी छ ।
– नवराज कट्टेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































