06/09/2026, 18:11:33
मङ्गलबार, जेठ २६, २०८३

सरकार रास्वपाको विधानले होइन, संविधानले चल्छ, चल्नुपर्छ : गगन थापा


गोरखा, जेठ २६ गते । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २०८७ सम्मको निर्वाचनका लागि जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका छन् । मंगलबार गोरखाका पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले संविधान अनुसार आगामी पाँच वर्ष सरकार चले नचलेको हेरेर आवश्यकता अनुसार संघर्ष गर्ने र उचित काममा सरकारलाई मद्दत गर्ने बताए ।

कार्यकर्ता भेटघाटमा उनले भने, ‘२०८२ मा चुनाव भयो, अर्को चुनाव २०८७ मा हुन्छ, त्यति बेलासम्म हामीलाई जनताले दिएको म्यान्डेट भनेको प्रतिपक्षको हो । रास्वपाभित्र के हुन्छ, के हुँदैन उहाँहरूको कुरो हो, हाम्रो सरोकारको कुरो होइन । तर, सरकार चलाउने भनेको उहाँहरूको पार्टीको विधानले होइन, देशको संविधानले सरकार चल्छ, चल्नुपर्छ ।

प्रजातन्त्रमा सरकार वा प्रतिपक्षको भूमिका जिम्मेवार हुने उनले बताए । २०४६ यताको राजनीति हेर्दा सरकारले ठिक ढंगले भूमिका निर्वाह नगरेजस्तै प्रतिपक्षमा बस्नेले पनि कहिलै ठिक ढंगले भूमिका निर्वाह गरेका छैनन । ‘प्रतिपक्षमा बसेको तर दिमागमा सत्ता छ,’ उनले भने, ‘सत्तामा रहेका पार्टीभित्र समस्या आउने हो कि भनेर खुट्टा उचालेर बसेको देखिन्छ ।’

प्रत्येक निर्वाचनले परिणाम मात्र नभइ सन्देश पनि दिने उनले बताए । ‘अहिलेको सन्देश के हो भने मतदाता हामीसँग रिसाएको हो, ठूलो पंक्तिले मत हालेको होइन रिस व्यक्त गरेको हो,’ उनले भने, ‘निर्वाचन परिणामलाई लिएर चिन्ता लिएर हुँदैन, चिन्तन गरेर अघि बढ्नुपर्छ ।’ विगतका एक दशकको राजनीति प्रधानमन्त्री हुने नहुनेमा मात्र सिमित बनेको उनले आरोप लगाए ।

संवैधानिक जिम्मेवारीमा बस्नेको सम्पत्ति छानबिनमा आफ्नो पार्टीले सहयोग गर्ने पनि उनले बताए । ‘आयोगले तोकेको सीमाभित्र विवरण बुझाउँछाैं, आजको स्रोत के हो, जीवनशैली के छ सबै कुराहरूको बारेमा आयोगले हेरोस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘तर, अहिलेको प्रधानमन्त्री, मन्त्रीले सम्पत्ति देखाउनुभएको छ, नवजवान साथीहरू हुनुहुन्छ, यो उमेरमा यति सम्पत्ति कहाँबाट आउँछ भनेर प्रश्न गर्दा वैध स्रोत देखाउने साहस छ कि छैन यो पनि हेरिरहेका छौँ ।

– हरिराम उप्रेती