

गौशाला (महोत्तरी), जेठ २२ गते । महोत्तरीको मनरा सिसवा नगरपालिकाले एक महिनाभित्र नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यसहित साक्षरता अभियान सञ्चालन गरेको छ। चालु आर्थिक वर्षभित्र पालिकालाई साक्षर घोषणा गर्ने उद्देश्यसहित जेठ १५ देखि असार १५ गतेसम्म अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख मोहन पाण्डेयले १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई लक्षित गरी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अभियानलाई प्रभावकारी बनाउन स्थानीय सामुदायिक विद्यालयका शिक्षकहरूलाई परिचालन गरिएको छ।
विद्यालय समय सकिएपछि शिक्षकहरू सम्बन्धित टोलमा पुगेर निरक्षर नागरिकलाई पढाउने कार्यमा सक्रिय रहेको उहाँले बताउनुभयो। साक्षरतालाई स्थानीय विकास र नागरिक सशक्तीकरणको आधारका रूपमा लिँदै अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँको भनाइ छ।
नगरपालिकाका १० वटै वडाका २३ टोललाई अभियानमा समेटिएको छ। नगर प्रमुख पाण्डेयका अनुसार पालिकाभित्र रहेका २३ सामुदायिक विद्यालयलाई आ–आफ्नो सेवा क्षेत्रका टोललाई साक्षर बनाउने जिम्मेवारी दिइएको छ। शिक्षकहरूले अतिरिक्त समय दिएर अभियानमा सहभागिता जनाइरहेका छन् भने नगरपालिकाले आवश्यक सहयोगको व्यवस्था गरेको छ।
“शिक्षा सबैको अधिकार, साक्षरता हाम्रो आधार” तथा “साक्षर नागरिक, समृद्ध नगरपालिका” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभियान निर्धारित समयमै सम्पन्न गरी असार मसान्तभित्र पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार साक्षर घोषणा हुनका लागि तोकिएका १२ सूचकमध्ये कम्तीमा ६ सूचक पूरा गर्नुपर्ने र लक्षित जनसङ्ख्याको ९५ प्रतिशत नागरिक साक्षर हुनुपर्ने व्यवस्था छ। यद्यपि नगरपालिकाले सबै १२ सूचक पूरा हुने गरी साक्षरता अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ छ।
अभियानको प्रभावकारिता सुनिश्चित गर्न सेभ द चिल्ड्रेन र रतौली युवा क्लबलाई समेत अनुगमनमा सहभागी गराइएको छ। दुवै संस्थाले नगरपालिकासँगको सहकार्यमा नियमित अनुगमन गरिरहेका छन्।
मनरा सिसवा नगरपालिकाले विगत दुई आर्थिक वर्षदेखि साक्षरता अभियान सञ्चालन गर्दै आएको थियो। तर अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि यस वर्ष विद्यालयलाई नै अभियानको मुख्य जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख पाण्डेयका अनुसार प्राथमिक तह तथा बालविकासका शिक्षकहरू समुदायमा पुगेर शिक्षण कार्य गरिरहेकाले यसपटक अभियान सफल हुने अपेक्षा गरिएको छ।
नगरपालिकाको पछिल्लो तथ्याङ्कअनुसार १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या ४२ हजार ५७१ रहेको छ। यसमध्ये २१ हजार ६२६ महिला र २० हजार ९४५ पुरुष छन्। तीमध्ये ४ हजार ३० महिला र २ हजार ४३९ पुरुष अझै निरक्षर रहेको तथ्याङ्कले देखाएको छ।
मनरा सिसवा नगरपालिकामा ८ हजार २३५ घरधुरीमा करिब ५४ हजार जनसङ्ख्याको बसोबास रहेको छ।
महोत्तरीका १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका साक्षर स्थानीय तह घोषणा भइसकेका छन्। अन्य स्थानीय तहहरू पनि साक्षर घोषणा गर्ने तयारीमा छन्। मनरा सिसवा नगरपालिका पनि सोही अभियानअन्तर्गत निर्धारित समयभित्र साक्षर पालिका घोषणा गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































