06/01/2026, 17:58:21
सोमबार, जेठ १८, २०८३

कर्णाली विकास बैंक घोटाला प्रकरण : बचत फिर्ताको माग गर्दै फेरि सडकमा बचतकर्ता


जमुनाह, जेठ १८ गते । कर्णाली विकास बैंकको साढे दुई अर्ब रुपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले सोमबार फेरि आन्दोलन गरेका छन् । लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार दिउँसो १ बजे र्‍यालीसहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्ना माग राख्न खोजे पनि सुनुवाइ नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागी बर्दियाको बढैयातालकी ललिता थापाले आफ्नो परिवार र आफन्तहरूको मात्रै करिब २२–२३ लाख रुपियाँ डेढ वर्षदेखि बैंकमा अड्किएको बतउनुभयो ।

उहाँले भन्नुभयो,“सहकारीमा पैसा राख्दा पनि समस्या, बैंकमा राख्दा पनि समस्या हुने अवस्था आयो । जनताले अब कसलाई विश्वास गर्ने ? मुद्दती खातामा राख्दा राम्रो ब्याज पाइन्छ भनेर राखिएको रकम अहिले निकाल्नै नपाउने अवस्था छ ।”

उहाँकाअनुसार बचतकर्ताहरू आफ्नो मेहनतको कमाइ फिर्ता पाउन नसक्दा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेका छन् । राज्यका निकायहरूले समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह नगरेको उहाँको आरोप छ ।

यस्तै, प्रभावित बचतकर्ता नवराज रिजालले विगत दुई वर्षदेखि बचतकर्ताको रकम फसेको अवस्था संगै दोषीमाथि पनि प्रभावकारी कारबाही हुन नसकेको बताउनुभयो । उहाँकाअनुसार प्रकरणमा १ सय ८ जनाविरुद्ध मुद्दा दर्ता भएको भए पनि दुई जनाबाहेक अन्यलाई पक्राउ नगरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

“समय–समयमा पाँच–पाँच हजार रुपियाँका दरले रकम वितरण गर्ने प्रयास भए पनि त्यसले साना बचतकर्तालाई मात्रै सामान्य राहत दिएको छ,” रिजालले भन्नुभयो, “ठूला बचतकर्ताहरू, विभिन्न संघसंस्था र व्यवसायिक प्रयोजनका लागि बैंकमा रकम राख्नेहरू भने अझै गम्भीर समस्यामा छन् ।”

उहाँले बैंकमा रकम फसेका कारण धेरै संघसंस्थाहरू आर्थिक संकटमा परेको र नियमित गतिविधि सञ्चालन गर्न कठिन भएको बताउनुभयो । समस्या समाधान हुने निश्चित समयसीमा अझै नतोकिएकाले आन्दोलन जारी रहने उहाँको भनाइ छ ।

बर्दियास्थित उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर सुवेदीले पनि संस्थाको रकम कर्णाली विकास बैंकमा फसेका कारण सहकारीको कामकाज नै प्रभावित भएको बताउनुभयो ।

“संस्थाको पैसा फसेपछि सेवा प्रवाह गर्न कठिन भएको छ । हाम्रोमा बचत गर्ने अधिकांश साना आयस्रोत भएका नागरिक हुन् । उनीहरूको रकम फिर्ता नहुँदा दैनिक जीवनयापनमै समस्या परेको छ,” उहाँले भन्नुभयो ।

प्रदर्शनका क्रममा बचतकर्ताहरूले राज्य र नियामक निकाय समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाएका थिए । उनीहरूले बचत रकम फिर्ता हुने स्पष्ट आधार नबन्दासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यसैबीच, नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका उपनिर्देशक मनोजकुमार केसीले उक्त विषयमा नेपालगन्ज कार्यालय वा यहाँ कार्यरत कर्मचारीले प्रत्यक्ष रूपमा केही गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो ।

कर्णाली विकास बैंकमा भएको वित्तीय अनियमितताका कारण हजारौं बचतकर्ता प्रभावित भएका छन् । लामो समयदेखि रकम फिर्ता नहुँदा प्रभावितहरू न्याय र आफ्नो बचत फिर्ताको माग गर्दै निरन्तर आन्दोलनमा छन् । नेपाल राष्ट्र बैंकले २०८१ पुषमा कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..