05/30/2026, 21:35:08
शनिबार, जेठ १६, २०८३

बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक छन् : कांग्रेस सभापति थापा


काठमाडौँ, जेठ १६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनुभएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापित थापाले भन्नुभयो, “हिजो मात्र बजेट आयो । अब हामी प्रतिपक्षमा छौँ । हाम्रो जिम्मेवारी छ नि त हामीले देश र जनतालाई बताउनुपर्छ । हामीले के देख्यौँ कि लामो समयदेखि नेपाली काँग्रेस पार्टीले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको थियो । काँग्रेसभित्र पनि हामीहरू जो अहिले जिम्मेवारीमा छौँ हामीहरूले त त्यसका निम्ति पहलकदमी नै गर्दै आएका थियौँ ।

त्यसैले हिजो नेपाल सरकारले ल्याएको भर्खर निर्वाचित भएको सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुरालाई अगाडि सारेको छ । थुप्रै नीतिगत कुरामा सुधारका लागि अगाडि सारेको छ । यी कुरालाई हामीले स्वागत पनि गर्नुपर्छ । आवश्यक परेको ठाउँमा भोलि यसका लागि चाहिने कानुन निर्माण गर्नुपर्ने छ यसमा हामीले मद्दत पनि गर्नुपर्छ ।”

आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको आरोप भने उहाँले लगाउनुभएको छ । उहाँले नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उल्लेख गर्नुभयो । सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा सस्तो प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म लोकप्रियताको पछि बहकिने नभई राज्यको ढुकुटी र नीतिमा समाजका सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उहाँले बताउनुभयो ।

संसद् र सडकमा प्रतिपक्षको भूमिकाबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “जब सरकारले संविधान र कानुनको उल्लंघन गर्छ वा राज्यका स्रोत–साधन कुनै निश्चित वर्गको हितमा मात्र प्रयोग गर्छ, तब निम्न वर्गका नागरिकको अधिकार रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिन्छ । प्रतिपक्षी भूमिका निर्वाह गर्न नैतिक साहस र नागरिकको भरोसा आवश्यक पर्दछ ।

यसैगरी, सभापित थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र माथिल्लो तहको राजनीतिक गन्थन छोडेर तत्काल जनताको माझमा जान निर्देशन दिनुभयो । थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघजस्ता संस्थाले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको सुखदुःखमा साथ दिनुपर्ने र पार्टीलाई जगैदेखि बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।