05/12/2026, 17:05:32
मङ्गलबार, बैशाख २९, २०८३

सुशासनका लागि सरकार प्रतिबद्ध : गणेश पराजुली


काठमाडौँ, वैशाख २९ गते । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गर्नुभएको छ ।

प्रतिपक्ष दलले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धतामा आशङ्का उत्पन्न भइरहेको भन्दै आलोचना गरिरहेका बेला उपनेता पराजुलीले सो दाबी गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले निर्वाचनका बेला पार्टीले जनतामाझ गरेको वाचा अनुसार सुशासन कायम गर्ने काम सरकारले सुरु गरिसकेको जिकिर गर्नुभयो ।

शिक्षा क्षेत्रलाई दलका कार्यकर्ता उत्पादन गर्ने थलोका रूपमा सञ्चालन गर्ने कार्य अब मान्य नहुने उल्लेख गर्दै उपनेता पराजुलीले सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त गराउने सरकारको अभियान रहेको बताउनुभयो ।

विगतमा विद्यालय र शिक्षा क्षेत्रलाई दलको कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गरियो,” उपनेता पराजुलीले भन्नुभयो, “अबको नयाँ पुस्ता राष्ट्र निर्माणका लागि सक्षम नागरिक उत्पादन गर्न चाहन्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम कर्मचारीतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

उहाँले थप्नुभयो, “अब सबै ठाउँमा दलीयकरण गर्ने सपना त्याग्न म अनुरोध गर्दछु । यो सरकारले आर्थिक रूपान्तरण (इकोनोमिक डिपार्चर) को सपना बोकेको छ । सुशासन र सेवा प्रवाहका लागि सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने कुरामा हामी प्रतिबद्ध छौँ र त्यसको सुरुआत भइसकेको छ ।

पाँचबुँदे सहमतिमा सुशासनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उपनेता पराजुलीले वर्तमान व्यवस्थाभित्रै रहेर यसको उत्कृष्ट अभ्यासमार्फत जनतालाई सुशासनको अनुभूति गराइने विश्वास दिलाउनुभयो ।