05/11/2026, 21:57:48
सोमबार, बैशाख २८, २०८३

काठमाडौंमा रोकिएका २७८ यात्रु लिन टर्कीबाट अर्को जहाज काठमाडौं आयो


काठमाडौँ, वैशाख २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा ‘फायर अन ह्विल’(ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको) घटना भएपछि रोकिएका २७८ यात्रुलाई गन्तव्यतर्फ लैजान टर्किस एयरलाइन्सले टर्कीबाट अर्को वाइडबडी विमान काठमाडौं पठाएको छ ।

सोमबार साँझ काठमाडौं आइपुगेको उक्त खाली विमान उद्धार उडानका रूपमा परिचालन गरिएको हो । विमानसँगै ६ जना इन्जिनियर तथा प्राविधिक टोली पनि काठमाडौं आएको स्रोतले जनाएको छ । सोमबार बिहान भएको घटनापछि प्रभावित यात्रुहरुलाई नक्सालस्थित मेरियट होटल र सोल्टी होटलमा राखिएको थियो । वैकल्पिक उडान सुनिश्चित भएपछि उनीहरुलाई दिउँसो पुनः विमानस्थल ल्याइएको थियो ।

फायर अन ह्विल’ घटना भएको टर्किस एयरलाइन्सको जहाज मर्मतका लागि स्थानीय एमआरओ कम्पनी मर्करीमार्फत प्राविधिक प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच, टर्किस एयरलाइन्सले आगो नियन्त्रणमा आइसकेपछि पनि विमानको इमर्जेन्सी स्लाइड खोलिएको विषयमा अध्ययन गर्ने जनाएको छ । घटनास्थलबाट प्राप्त जानकारीअनुसार काठमाडौंस्थित टावरले पाइलटलाई स्लाइड खोल्न निर्देशन दिएको थियो । एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशनपछि टर्किस एयरलाइन्सका पाइलटले ‘स्लाइड खोल्नैपर्ने अवस्था हो ?’ भन्दै तीन पटक पुनः पुष्टि मागेको स्रोतले बताएको छ ।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरहरूको आकस्मिक बैठकसमेत बसेको थियो । बैठकमा आगो नियन्त्रणमा आइसकेपछि पनि ग्राउन्डबाट धुवाँ देखिएको जानकारी फायरम्यानले दिएपछि एटीसीले स्लाइडमार्फत यात्रु निकाल्न निर्देशन दिएको बताइएको छ । तर, पाइलटले भने विमानलाई ट्याक्सी–वेमा नै रोकेर यात्रु सुरक्षित रूपमा बाहिर निकाल्ने निर्णय गरिसकेको स्रोतको भनाइ छ ।

घटनामा विमानस्थलभित्र रहेका नेपाल वायुसेवा निगम ग्राउन्ड हयान्डलिङ युनिटलगायत विभिन्न सेवाप्रदायक निकायबीच आवश्यक समन्वय अभाव देखिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो व्यक्त गरेको छ । मन्त्रालयले घटनाबारे विस्तृत अध्ययन तथा समन्वय प्रक्रियाको समीक्षा गर्ने जनाएको छ ।

सोमबार बिहान घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले संयुक्त रूपमा उद्धार तथा समन्वयको नेतृत्व गरेका थिए ।

तत्कालीन अवस्थामा जे निर्णय गरियो, त्यो उचित निर्णय थियो,’ निमित्त महाप्रबन्धक सिटौलाले भने, ‘फ्र्याक्सन अफ सेकेन्डमै जे पनि हुन सक्थ्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा यात्रु सुरक्षित रहे ।

– सुरज कुँवर