05/09/2026, 15:58:08
शनिबार, बैशाख २६, २०८३

‘सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’


काठमाडौँ, वैशाख २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ ।

रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएका हुन् । रास्वपाका १८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टि जनाउनुभएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै उहाँले सांसदले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनुभयो । उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत भएको बताउनुभयो ।

उहाँले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याकंन, अनुभव आदान-प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताउनुभयो । तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भिर विषय रहेको उहाँको भनाइ छ । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिनुभयो ।

जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदले अध्ययन, तयारी, पारदर्शिता र जन-उत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उहाँले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्‍यो’ भन्ने आधारमा मूल्याङ्कन गर्न थालेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,  “जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन् । राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्ने जनअपेक्षा अहिले बलियो बनेको छ । यस्तो समयमा जनताबाट प्राप्त विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । हामीले राजनीतिमा नयाँ पुस्ताको उर्जा, पारदर्शिता, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास गर्नुपर्ने आवश्यकता छ । संसद र संसदीय समितिको प्रभावकारी भुमिका, पार्टी र सरकारबीचको समन्वय, संसदीय मर्यादा, आचरण र विषयगत तथ्यमा आधारित बहस, जनतासँग जोडिएको उत्तरदायी व्यवहार तथा प्रभावकारी नेतृत्व विकासको अपेक्षा हामीले राखेका छौँ ।

आजको राजनीति केवल नाराले चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्दछ । जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मुल्यांकन गर्न थालेका छन् । त्यसैले हामी सबैले आफूलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखी बनाउदै लैजान अति आवश्यक रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुल आधार बनाएको छ । पार्टीको वाचा पत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासँग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद् आवश्यक रहेको छ । यो प्रशिक्षण केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदानप्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट शुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन ।

संसदीय दलको उप–नेताको हैसियतमा म यहाँहरुलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले विशेष गरि संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भूमिकाबाट बिमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मुल्यांकन गरिनेछ ।

उहाँले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्याङ्कन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदलाई आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनुभयो ।