04/29/2026, 15:22:37
बुधबार, बैशाख १६, २०८३

सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : कांग्रेस सभापति थापा


रौतहट, वैशाख १६ गते । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले आफ्नै बहुमत सरकारको संसद्‍प्रति नै विश्वास नभएको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासित भेटघाट गर्न जाने क्रममा सभापति थापाले रौतहटको चन्द्रनिगाहपुरमा पार्टीका स्थानीय नेता, कार्यकर्ताहरूसँग भेटघाट गर्दै प्रतिनिधिसभाको मिति तोकेर आह्वान समेत भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिइकन बैठक स्थगित गरिएकोमा टिप्पणी गरेका हुन् ।

सरकारले अहिले संसद् र नागरिक दुवैलाई हेपेको छ,’ उनले भने, ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ ।’ उनले अगाडि भने, ‘बहुमत प्राप्त सरकारको संसद्‍प्रति नै विश्वास छैन । संसद् छलेर अध्यादेश ल्याउने सवालमा नागरिकलाई केही पनि बताउनैनपर्ने, केही भन्नै नपर्ने ? संसद्को तयारी नभएको र सांसदकै अनुरोधमा बैठक स्थगित गरेको हो भनेर प्रचार भयो, यो सरासर हेपेको र ढाँटेको हो ।

संवैधानिक परिषद्‍को बनोटमा पहिलेका प्रधानमन्त्रीहरूले आफूअनुकूल काम गराउन चलखेल गर्ने गरेको उल्लेख गर्दै अहिले पनि त्यो कायमै रहेको उनले बताए ।

हामी यसरी गर्दैछौं । हामी यसरी अघि बढ्दैछौं भनेर प्रतिपक्षमा भएको नाताले हामीसित एक पटक पनि किन नसोधेको ?,’ उनको प्रश्न थियो, ‘हामी आफैं पनि सुधारको पक्षमा छौं । हामी पनि विगतका कमी–कमजोरी सच्याउँछौं भनेर चुनावमा गएका हौं । संवैधानिक निकायको नियुक्तिका सवालमा व्यापक परिवर्तन गर्छौं भन्नेमा थियौं ।

शासकीय सुधारका सवालमा सरकारले गरेको काममा आफूहरूले सहयोग गर्ने तर अरू पार्टीलाई र सदनलाई पेलेर जाने अवस्थामा भने चुप नबस्ने सभापति थापाको भनाइ थियो ।

गत फागुनमा सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार दिएका सभापति थापा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । पराजयले आफूलाई विचलित नबनाएको र यसलाई लोकतान्त्रिक अभ्यासको एक हिस्साका रूपमा लिएको उनले बताए ।

हार र जित चुनावी प्रक्रियाको स्वाभाविक परिणाम हो,’ उनले भने, ‘सर्लाहीका जनताले दिएको म्यान्डेटलाई म पूर्ण सम्मान गर्दछु । यो पराजय मेरा लागि निराशा होइन, बरु मलाई थप सुदृढ बनाउने र जनताका समस्यालाई नजिकबाट बुझ्ने अवसर बनेको छ ।

बुधबार दिनभर सभापति थापाले सर्लाहीका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

– शिव पुरी