09/02/2026, 16:23:42
बुधबार, भदौ १७, २०८३

रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री कोषमा सात अर्बभन्दा बढी सङ्कलन, छ करोड ७५ लाख निकासा


काठमाडौँ, भदौ १७ गते । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र रूपमा बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाइरहेको र सहयोग आउने क्रम लगातार जारी रहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहका अनुसार राहत कोषमा बुधबारसम्म कुल सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ। जसमध्ये मङ्गलबार मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपियाँ निकासा गरिएको थियो। प्राधिकरणमार्फत बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा पालिकाहरूमा छ करोड ७५ लाख रुपियाँ निकासा भइसकेको छ।

हाल उक्त कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ मौज्दात रहेको छ। यसका अतिरिक्त कोषमा वैदेशिक सहयोगस्वरूप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको प्रधानमन्त्री शाहले बैठकमा जानकारी दिनुभयो।