09/01/2026, 22:38:01
मङ्गलबार, भदौ १६, २०८३

बाढीपीडितको उद्धार र राहतका लागि एमालेले दियो १ करोड २० लाख, महेश बस्नेतको संयोजकत्वमा समिति गठन


काठमाडौं, भदौ १६ गते । नेकपा (एमाले) ले देशका विभिन्न भागमा आएको बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र राहत व्यवस्थापनका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एक करोड २० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम राहत उद्धार कोषमा जम्मा गर्नका लागि एमाले राजधानी प्रदेशका तर्फबाट १० लाख रुपियाँको चेक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ। उक्त चेक बागमती प्रदेश कमिटीको तर्फबाट प्रदेश इन्चार्ज महेश बस्नेतले हस्तान्तरण गर्नुभएको हो।

विपद्को समयमा मानवीयता र सहकार्यलाई प्राथमिकता दिँदै एमालेले पार्टी सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ समेत गठन गरेको छ। समितिले प्रभावित नागरिकको तत्काल उद्धार, राहत सामग्री संकलन तथा वितरण, आर्थिक तथा मानवीय सहयोग परिचालन र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक समन्वय गर्ने जनाएको छ। समितिमा विभिन्न जनसंगठनका प्रतिनिधि तथा जिम्मेवार नेताहरूलाई समेटिएको छ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि इमानदार प्रयास गरिने संयोजक बस्नेतले बताउनुभयो। एमालेले उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्र बनाउन आफ्ना कार्यकर्ताहरूलाई रसुवा र नुवाकोटका बढी प्रभावित क्षेत्रहरूमा परिचालन गरिसकेको जानकारी दिएको छ।