

काठमाडौँ, भदौ १५ गते । रसुवाको लाङटाङ लिरुङ क्षेत्रमा पहिरो र हिमनदी फुटेर आएको विनाशकारी भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी‘ को संज्ञा दिँदै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त पहल लिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।
हिमाल तथा हिमनदी अध्येताहरूका अनुसार इतिहासमै अहिलेसम्मकै ठूलो क्षति पुर्याएको यो घटना मानव सभ्यता र हिमाली वातावरणका लागि ठूलो चुनौतीका रूपमा देखा परेको छ। विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू कति जोखिमपूर्ण अवस्थामा छन् भन्ने कुराको यो एक प्रत्यक्ष र ज्वलन्त प्रमाण हो।
हिउँविज्ञहरू प्रा. डा. दिवस श्रेष्ठ, प्रा. डा. सुदीप ठकुरी र डा. नितेश खड्काका अनुसार यो महाविपत्ति समुद्री सुनामीभन्दा कम छैन। न्यून कार्बन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको भारी असर भोग्न बाध्य नेपालजस्ता मुलुकका लागि अब हिमाल केवल सम्पत्ति मात्र नभएर ‘विनाशको बम‘ सरह बन्दै गएको उनीहरूको ठम्याइ छ। यदि यस्ता थप दुई-चार वटा प्रकोपजन्य घटना दोहोरिएमा मुलुकले त्यो क्षति थेग्नै नसक्ने भयावह स्थिति आउन सक्ने चेतावनी उनीहरूले दिएका छन्।
त्यसैले, यस घटनालाई ‘हिमाली सुनामी’ वा ‘हिमाली प्रलय’ का रूपमा अन्तर्राष्ट्रिय फोरमहरूमा उजागर गर्दै नेपालले विकसित र अत्यधिक कार्बन उत्सर्जक राष्ट्रहरूसँग तत्काल ‘जलवायु वित्त‘ (Climate Finance) र आधुनिक पूर्वसूचना प्रविधि हस्तान्तरणका लागि कूटनीतिक लबिङ गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























